गृहपृष्ठ अमेरिकामा मुद्दा जितेपछि अडानी बने एसियाकै धनी व्यक्ति
अमेरिकामा मुद्दा जितेपछि अडानी बने एसियाकै धनी व्यक्ति
मुम्बई । अदानी समूहका अध्यक्ष गौतम अडानी एक महिनापछि पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
फोर्ब्सको रिपोर्टअनुसार अदानी समूहका कम्पनीहरूको शेयर मूल्यमा आएको तीव्र वृद्धिसँगै उनको कुल सम्पत्ति ८.५५ लाख करोड रुपैयाँ पुगेको छ।
सम्पत्तिमा भएको यो वृद्धिसँगै उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मासायोशी सनलाई उछिनेका छन्। अप्रिलसम्म अडानी एसियाका सबैभन्दा धनी व्यवसायी थिए। तर मे महिनामा समूहका शेयरमा गिरावट आएपछि उनी तेस्रो स्थानमा झरेका थिए।
हाल अडानीपछि मुकेश अम्बानी ८.४३ लाख करोड रुपैयाँ सम्पत्तिसहित दोस्रो स्थानमा छन् भने मासायोशी सन ८.२४ लाख करोड रुपैयाँ सम्पत्तिका साथ तेस्रो स्थानमा रहेका छन्। अडानी यसअघि पनि अप्रिल २०२६ मा एसियाकै धनी व्यक्ति बनेका थिए।
पछिल्ला दिनहरूमा अदानी समूहका कम्पनीहरूको शेयरमा लगानीकर्ताको बलियो चासो देखिएको छ। सन् २०२६ को सुरुदेखि हालसम्म समूहअन्तर्गतका विभिन्न कम्पनीका शेयर मूल्य २३ प्रतिशतदेखि ५६ प्रतिशतसम्म बढेका छन्।
गत महिना अमेरिकी न्याय विभागले अदानी समूहविरुद्ध लगाइएको ठगीसम्बन्धी आरोप खारेज गरेपछि गौतम अडानीको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको हो। त्यसयता उनको सम्पत्ति करिब १० अर्ब अमेरिकी डलर अर्थात् झन्डै ९४.९५ हजार करोड भारतीय रुपैयाँले बढेको बताइएको छ। यसअघि सौर्य ऊर्जा आपूर्ति सम्झौतासम्बन्धी २५ करोड डलर घुस लिएको आरोप समूहमाथि लागेको थियो, जसले लगानीकर्ताको विश्वास कमजोर बनाएको थियो।
यसअघि सन् २०२३ मा अमेरिकी सर्ट–सेलर संस्था हिन्डनबर्ग रिसर्चले अदानी समूहमाथि शेयर हेरफेर र वित्तीय अनियमितताका गम्भीर आरोप लगाएको थियो। त्यसपछि समूहका कम्पनीहरूको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। तर गत वर्ष नियामक निकायहरूले ती आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै मुद्दा टुंग्याएका थिए।
प्रकाशित समय : ११:३९ बजे



















