गृहपृष्ठ सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बन्यो ‘लालीबजार’
सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बन्यो ‘लालीबजार’
काठमाडौं । चालु वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली चलचित्रमध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत जेठ १६ गतेसम्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ७ करोड ९० लाख ३१ हजार ४७६ रुपैयाँ कमाइ गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्स अफिस’ प्रणालीमा उपलब्ध विवरणअनुसार सो अवधिसम्म चलचित्रका एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन्।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्रमा स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। चलचित्रको सफलताप्रति खुसी व्यक्त गर्दै अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकको मायाले टोलीको मेहनत सफल भएको अनुभूति दिलाएको बताए।
उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै शिक्षा र सामाजिक चेतनाको विषयलाई प्रस्तुत गरेको छ। शिक्षा जीवनलाई उज्यालो बनाउने महत्वपूर्ण आधार भएको सन्देश चलचित्रमार्फत प्रवाह गरिएको उनले बताए।
चलचित्रमा रवीन्द्रसिंह बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ।
यसैबीच, वैशाख ११ गते प्रदर्शनमा आएको चलचित्र परालको आगोले ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ कमाइ गरेको छ। चलचित्रका एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन्। लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
वैशाख २५ गतेदेखि प्रदर्शनरत चलचित्र मालती मङ्गलेले ५१ लाख ७३ हजार ७९३ रुपैयाँ कमाइ गरेको छ। चलचित्रका १६ हजार १८८ टिकट बिक्री भएका छन्। रामकृष्ण ढकालले निर्माण गरेको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल र मेक्सम गौडेललगायत कलाकारको अभिनय रहेको छ।
त्यसैगरी, चलचित्र गुरु आमाले २९ लाख ४२ हजार ५७६ रुपैयाँ कमाइ गरेको छ भने ९ हजार ३२७ टिकट बिक्री भएका छन्। चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ।
जेठ १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र एक मुठ्ठी बादलले ५ लाख २१ हजार ८२५ रुपैयाँ कमाइ गरेको छ। चलचित्रका एक हजार ५०५ टिकट बिक्री भएका छन्। चलचित्रमा आँचल शर्मालगायत कलाकारको अभिनय रहेको छ।
सोही मितिदेखि प्रदर्शनमा आएको चलचित्र लाइफ ड्यामेजले ३३ लाख २६ हजार ३२० रुपैयाँ कमाइ गरेको छ। चलचित्रका १० हजार ८५५ टिकट बिक्री भएका छन्।
जेठ ८ गते प्रदर्शनमा आएका चलचित्र काजी र मितज्यूले अपेक्षाअनुसार व्यापार गर्न सकेका छैनन्। ‘काजी’ले ४० लाख ८८ हजार १७५ रुपैयाँ कमाइ गर्दै १३ हजार ७ टिकट बिक्री गरेको छ भने ‘मितज्यू’ले १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाइ गर्दै ४१ हजार २४८ टिकट बिक्री गरेको छ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार जेठ मध्यसम्म घरेलु बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने नेपाली चलचित्र ‘लालीबजार’ बनेको छ। बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गर्दै आएको छ।
प्रकाशित समय : ०८:०५ बजे



















