global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी प्रदेशसभाः ‘पूर्वाधार विस्तारले सङ्घीयताको औचित्य पुष्टि भएको छ’

लुम्बिनी प्रदेशसभाः ‘पूर्वाधार विस्तारले सङ्घीयताको औचित्य पुष्टि भएको छ’

लुम्बिनी प्रदेशसभाः ‘पूर्वाधार विस्तारले सङ्घीयताको औचित्य पुष्टि भएको छ’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताएको छ ।

लुम्बिनी प्रदेशसभाको आजको आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पारे । “सरकार अविछिन्न उत्तराधिकारी हो । अघिल्लो सरकारले अगाडि सारेका कार्यक्रमलाई सम्पन्न नगरी बीचमै छाड्नु राम्रो कुरा होइन”, उनले भने, “स्थापनाकालदेखि सञ्चालनमा रहेका धेरै कार्यक्रमलाई निरन्तरताका साथ अघि बढाएका छौँ । नयाँ सोच र दृष्टिकोणका कार्यक्रम पनि समावेश गरेका छौँ ।”

उनले लुम्बिनी प्रदेशको समृद्धि, आर्थिक उन्नति र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्दै सभामा प्रस्तुत गरिएका कार्यक्रम बजेटमार्फत कार्यान्वयन गरिने विश्वास दिलाए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थापनाकालदेखि अघि सारेका नीति तथा कार्यक्रमले अहिले भुइँतहमा सकारात्मक परिणाम दिन थालेको बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन नौ खर्ब ३६ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान १४ दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको उहाँले जानकारी दिए ।

प्रदेश स्थापना भएदेखि हालसम्म तीन खर्ब तीन अर्ब ८४ करोड बजेट विनियोजन गरिएको र त्यसमध्ये दुई खर्ब चार अर्ब ८९ करोड खर्च भएको उनले बताए । चालु आवको वैशाख मसान्तसम्म ४० प्रतिशत वित्तीय प्रगति हासिल भएको र यो अन्य प्रदेशको तुलनामा उच्च रहेको उनको भनाइ छ ।

खानेपानी क्षेत्रमा तीन हजार ७९१ वटा प्रणाली सञ्चालनमा आएको, १६ लाखभन्दा बढी नागरिक लाभान्वित भएको तथा दुई लाख ७७ हजारभन्दा बढी धारा जडान गरिएको जानकारी उनले दिए । आगामी वर्ष ८० प्रतिशतभन्दा बढी प्रगति भएका सबै खानेपानी आयोजना सम्पन्न गरिने उनले बताए ।

सडक पूर्वाधारतर्फ हालसम्म ७७० किलोमिटर नयाँ ट्र्याक खोलिएको, एक हजार ३६३ किलोमिटर सडक कालोपत्रे गरिएको तथा २०६ वटा सडक पुल र ७० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।

कृषि क्षेत्रमा ३३ वटा खाद्यान्न बीउ भण्डारण गृह, १७ वटा शीतभण्डार र १०२ वटा बजार पूर्वाधार निर्माण गरिएको उल्लेख गर्दै आठ हजारभन्दा बढी साना सिँचाइ आयोजना सम्पन्न हुँदा छ हजार ४० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको बताए । स्वास्थ्य क्षेत्रमा नवजात शिशु मृत्युदर प्रतिहजार २२ बाट घटेर १६ मा झरेको तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ४० बाट घटेर २९ मा पुगेको जानकारी उनले दिए ।

शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको, स्मार्ट विद्यालय, नमूना विद्यालय तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएका कारण विद्यालय उपस्थितिदर ९१ प्रतिशतभन्दा माथि पुगेको उनले बताए।

वन तथा वातावरण क्षेत्रमा ९१८ हेक्टरमा वृक्षरोपण, ९९ लाख बिरुवा उत्पादन तथा वितरण गरिएको जानकारी दिँदै ऊर्जा क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको जानकारी दिए। उद्योग तथा पर्यटन क्षेत्रमा छ हजारभन्दा बढी उद्योग र तीन हजारभन्दा बढी वाणिज्य फर्म दर्ता भएको तथा १९ अर्ब बराबरको लगानी भित्रिएको जानकारी उनले दिए ।

मुख्यमन्त्री आचार्यले आगामी बजेटमा आयोजना बैंकमा समावेश भएका योजना मात्रै समेटिने स्पष्ट पार्दै विकास बजेट छर्ने प्रवृत्ति अन्त्य गरिने बताए । गौरवका आयोजना, बहुवर्षीय योजना, रणनीतिक सडक तथा उत्पादनमुखी क्षेत्रमा बजेट केन्द्रित गरिने उहाँको भनाइ थियो ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु