गृहपृष्ठ कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा
कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा
काठमाडौं । काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ ।
पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरूप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।
उनले भने, ‘कामपाको १ देखि ३२ वटै वडाका प्रतिनिधि, नागरिकसँगको सोधपुछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी स्थान पहिचानको काम गरेको हो’, खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने आशा कामपाको छ ।
विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै जोशीले भने, ‘डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ’, डुबानमा परेकाको उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।
मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए ।
पछिल्लो समय काठमाडौँमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफल बिनानै सडक खन्ने र पुर्ने कार्यले नदीजन्य विपद्का घटना हुने गरेको छ ।
कामपाले सरोकारवालालाई विपद्का बेला अपनाउनुपर्ने सावधानी र उद्धारका विभिन्न विधिको प्रयोगात्मक अभ्यास गरीसकेको छ । सहरी विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय आवश्यक पर्ने बताइएको छ ।
प्रकाशित समय : १९:०९ बजे



















