गृहपृष्ठ चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु
चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु
दमौली । लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधिन पुलको कार्यले गति लिएकोे छ ।
व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदीमाथिको पुलको निर्माण कार्य अलपत्र भएको थियो । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ । केही समय उक्त पुलको काम अलपत्र बने पनि हाल निर्माण व्यवसायीलाई निर्देशन दिएर पुलको काम सम्पन्न गर्न सचेत गराइएको उनले बताए।
विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास भएको थियो । पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो । सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुन्थ्यो । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काममा ढिलाइ भएको तिवारीले बताए।
हालसम्म चार पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८३ असोज ३० गतेसम्म म्याद थप गरिएको उनले जानकारी दिए । बजेट अभाव नभएमा थप भएको समयभित्रै काम सम्पन्न गर्ने कार्यालय र निर्माण व्यवसायी लागिपरेको उनले बताए । उनले भने, “झापुटारतर्फको स्पानको स्टिलको काम करिब सकिएको छ । व्यासतर्फको स्पानको स्टिल जोडेपछि करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ ।”
गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९।५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ ।
पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँपालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ । तर अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दूरी पनि छैन ।
त्यहाँ हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो । तर उक्त आदेश पूर्ण रूपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुङ्गे पुलबाट नै दुई पाङ्ग्रे सवारीसाधन वारपार गर्दै आएका छन् ।
झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ ।
प्रकाशित समय : ०६:४४ बजे


















