गृहपृष्ठ विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया
विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया
काठमाडौँ ।विभिन्न विश्वविद्यालयहरूमा सङ्क्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया गरिएको छ । विश्वविद्यालयहरूका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको अन्तरक्रियामा नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापनलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूबाट योजना प्रस्तुत भएको छ । सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिए । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको छ । उपकुलपति नियुक्तिका लागि आठ वटा विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएका तथा छनोट प्रक्रिया अघि बढिसकेको छ । अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने जनाइएको छ । सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोही बमोजिम उपकुलपति छनोट प्रक्रिया सुरु गरिसकेको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत छनोट गर्ने व्यवस्थासहित ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ ल्याइएको हो । सोही अनुरूप अहिले उपकुलपति छनोट प्रक्रिया अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रकाशित समय : १७:०८ बजे



















