global ime bank Long Banner Ad

गृहपृष्ठ ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी ।कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले भरिएको थियो । धानबालीसमेत खासै फस्टाउँदैनथ्यो । तर हिजोआज त्यही ठाउँ प्रकृतिसँग रमाउँदै ट्राउट माछाको स्वाद लिने आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

‘ज्ञान र सीप सिकेर स्वदेशमै फर्क साथी, त्यही सीपले देश उठाउनुछ माथि’ भन्ने सन्देशमूलक सोचका साथ २०६७ सालमा जापान र बेलायतको सेवासुविधा त्यागेर स्वदेश फर्कनुभएका दुई दाजुभाइले सुरु गर्नुभएको ‘गण्डकी ट्राउट फार्म’ पछिल्लो समय मनग्य आम्दानी र रोजगार सृजनाको आधार बनेको हो ।

भारतीय सेनाबाट अवकाशप्राप्त भई लामो समय जापान बस्दै आउनुभएका कास्की रिभानका अमृत गुरुङ र धान्द्रुकमा जन्मी हङ्कङ, बेलायतको व्यापार व्यवसाय त्यागेर नेपाल फरकियका लच्छीन गुरुङले सो फार्म सुरु गरेका थिय । उनिहरूबीच एउटा साझा सोच मिल्यो, ‘विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै उपयोग गर्ने ।’

आफ्नै गाउँठाउँमा केही नयाँ व्यवसाय गर्ने अठोटका साथ नेपाल फर्किनु भएका उनहरूले पोखरा र आसपासमा ट्राउट माछापालनको सम्भावना खोजे । अन्ततः माछापुच्छ्रे–३ स्थित मूलको चिसो पानी र न्यूनतम १६ र अधिकतम १८ डिग्री सेल्सियस तापक्रम भएको स्थान ट्राउट माछाका लागि उपयुक्त देखेपछि २२ रोपनी जग्गा खरिद गरेर व्यवसाय सुरु गरेका थिय ।

दुईवटा पोखरीबाट सुरु गरिएको गण्डकी ट्राउट फार्म आज विस्तार हुँदै ६० वटा पोखरीसम्म पुगेका छन् । तत्कालीन गण्डकी अञ्चलमै पहिलोपटक सुरु गरिएको यो ट्राउट फार्म अहिले सफल उदाहरणका रूपमा स्थापित भएको छ । यो प्रयास अहिले सबैका लागि उदाहरणीय बनेको छ । विदेशमा अवसर खोज्ने युवाका लागि यो त झनै फार्मले प्रेरणा दिएको छ ।

विशेषगरी ट्राउट माछा ओमेगा–३ पोषकतत्वले भरिपूर्ण हुन्छ, जसमा नरम काँडा भएका कारण ज्येष्ठ नागरिक र बालबालिकालाई पनि खान सजिलो हुनुका साथै जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यही कारणले गर्दा यो ट्राउट फार्म पछिल्लो समय पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ । दैनिक चार सय बढी पाहुना यहाँ आउने गर्छन् । शनिबार भने यो सङ्ख्या एक हजार ५०० नाघ्ने गरेको सञ्चालक लच्छीन गुरुङ बताउछन ।

फार्ममा एक केजी माछा पकाएको एक हजार ७०० लिने गरेको उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, “रेष्टुरेन्टसँगै आरामदायी कटेज पनि व्यवस्था गरिएको छ । रातमा बस्ने पाहुना थपिए भने पालको समेत व्यवस्था गरिन्छ, जसले पर्यटक थप आकर्षित हुने गरेका छन् ।”

वार्षिक तीन करोड रुपैयाँबराबरको २५ टन माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उमेरले ६६ वर्षीय लच्छीन भन्नुहुन्छ, “फार्ममा अहिलेसम्म सात करोड लगानी भइसकेको छ । चौबीस जनाले दैनिक र १० जनाले अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गरेका छन् ।”

माग अत्यधिक भएपछि आफ्नै उत्पादनले मात्र अपुग हुने हुँदा आसपासका अन्य फार्मबाट पनि माछा खरिद गर्ने गरेको उहाँको भनाइ छ । यसबाहेक भुरा उत्पादनका लागि धान्द्रुकमा २५ लाख रुपैयाँ लगानीमा भुरा उत्पादनका लागि ह्याचरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

अमृत भने ६५ वर्षको भय । उनिहरुको यो व्यवसायलाई निरन्तरता दिन परिवारको पूर्ण सहयोग रहेको अमृतले बताय । उनका अनुसार नेपाल सरकार र विभिन्न स्वदेशी तथा विदेशी सङ्घसंस्थाबाट पनि राम्रो सहयोग मिलेको छ ।

पोखरा आउने दुई प्रतिशत पर्यटक सो क्षेत्रमा पुर्याउन सकेमात्र पनि पर्यटकको एक दिनको बसाइ लम्ब्याउन र थप रोजगार सृजना गर्न सकिने उनले बताय । सो स्थानसम्म पुग्न पोखरा पुरानो बजार महेन्द्रपुलबाट नदीपुर, बगर, लामाचौर अकला, पुरन्चौर हुँदै लगभग १७ किलोमिटर दूरी छ ।

प्रकृतिसँग रमाउँदै स्वादिलो ट्राउट माछा चाख्न पाइने यो स्थान अहिले केवल व्यवसायमात्र होइन, आत्मनिर्भरता र प्रेरणाको केन्द्र बनेको सो फार्ममा पुग्ने जोकोही बताउँछन् । यहाँ परम्परागत लिङ्गे, चारपिर्के पिङ, पौडीपोखरीलगायत मनोरञ्जनका सामग्री पनि राखिएका छन् । जसका कारण टिकटकलगायत सामाजिक सञ्जालमा रमाउनेहरू पनि यहाँ आउने गर्छन् ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु