गृहपृष्ठ मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु
मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु
जनकपुर । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु सोमबार (आज)बाट मधेश प्रदेशका प्रत्येक जिल्लामा सुरु भएको छ ।
प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।
प्रतियोगितामार्फत प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने, युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने तथा अनुशासित, स्वास्थ्य र प्रतिस्पर्धी समाज निर्माणमा टेवा पुग्ने खेललाई व्यवसायीकरण गर्दै खेलकुद, खेलाडी र मधेश प्रदेशको विकासमा टेवा पुग्ने विश्वासका साथ यस प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव कानुले बताए ।
देशभरमै खेलकुदका लागि सबैभन्दा बढी बजेट बागमती प्रदेशले ल्याउने गरेकामा हालसम्म बागमती प्रदेशले १५ वटा खेलको प्रतियोगिता मात्र आयोजना गर्न सकेकोमा मधेश प्रदेशले एकै पटक १९ वटा खेलको प्रतियोगिता आयोजना गरेर सबैलाई पछाडि पारेको सदस्य सचिव कानुले जानकारी दिए ।
प्रतियोगितामा १९ वटा खेलको ८ वटै जिल्लाबाट जम्मा २४७२ जना सहभागी रहेका छन् । जसमध्ये प्रत्येक जिल्लाबाट पुरुष खेलाडी १६७ जना, महिला खेलाडी १०८ जना, प्रशिक्षक १८ जना र व्यवस्थापक १० जना रहेका छन् ।
प्रतियोगितामा प्रत्येक खेलमा प्रथम हुनेले रु २५०००, दोस्रो हुनेले १५००० र तेस्रो हुनेले १०००० रकमसहित मेडल र ट्रफी पाउने आयोजक मधेश खेलकुद परिषद, जनकपुरले जानकारी दिएको छ । उक्त प्रतियोगिताका निम्ति मधेश प्रदेश सरकारले बजेटमै २ करोड ५५ लाख रकम छुट्टयाएको थियो ।
प्रकाशित समय : १६:०६ बजे



















