गृहपृष्ठ नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी हुँदै
नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी हुँदै
काठमाडौँ । काठमाडौँको बालुवाटारमा यही जेठ ८ गतेदेखि नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल हस्तकला महासङ्घले विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्याउनाका साथै हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्यले यही जेठ ८ देखि १० गतेसम्म उक्त प्रदर्शनी गर्न लागेको हो ।
हस्तकला क्षेत्रले लाखौँको सङ्ख्यामा स्वरोजगारको अवसर सिर्जना गरिरहेको छ । भारत चीनलगायत तेस्रो विश्वका देशहरुमा वार्षिक २८ अर्ब बराबरका विभिन्न हस्तकलाका वस्तु निर्यात भइरहेका छन् । हस्तकलालाई कृषिजन्य उद्योगपछि देशभरि विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको जानकारहरू बताउँछन् । यसले देशको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व गरिरहेको छ ।
मेलाको आकर्षणका रूपमा हस्तकला प्रदर्शनी तथा विक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम तथा प्रदर्शन, स्थानीय उद्योगी, कलाकाररकालिगढको सीप प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकारको स्वाद रहेको महासङ्घले आज पत्रकार सम्मेलनमार्फत महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए ।
प्रकाशित समय : १६:३९ बजे



















