global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

दैलेख । छिमेकी मित्रराष्ट्र भारत र चीनलाई जोड्ने रणनीतिक महत्वको त्रिदेशीय ‘महाबु सडकखण्ड’ अन्तर्गतको बाटो स्तरोन्नति गर्न र ट्रयाक खोल्न सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

समुद्र सतहदेखि चार हजार १६८ मिटर उचाइमा अवस्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण महाबु लेकमा आयोजित स्थानीय तहका जनप्रतिनिधि एवं जिल्लास्थित सरकारी अधिकारी सम्मिलित बैठकले सो निर्णयसहित छबुँदे प्रस्ताव सर्वसम्मत रूपमा पास गरेको हो ।

दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले महाबु सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आवश्यक बजेट व्यवस्था गरिदिन प्रदेश तथा सङ्घीय सरकारसँग अनुरोध गरेको हो ।

दैलेख जिल्ला नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मत रूपमा पास भएको महाबु गाउँपालिकाका प्रमुख जङ्गबहादुर शाहीले जानकारी दिए ।

उनले चीनको नाक्चेनाग्लादेखि भारतको जमुनाह नाकालाई जोड्ने सो सडक निर्माण हुनसके दैलेख, कालीकोट, सुर्खेतसहित समग्र कर्णाली प्रदेश लाभान्वित हुने धारणा व्यक्त गरे ।

बैठकमा नौमूले गाउँपालिकाका प्रमुख छविराम सुवेदीले सो सडकको स्तरोन्नतिसहित निर्माण सम्पन्न भए वातावरण तथा जैविक विविधताको संरक्षण र सम्वद्र्धन, पर्यापर्यटनको विकास एवं विस्तार, कृषि क्षेत्रमा आत्मनिर्भर, शिक्षा, स्वास्थ्य र सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति भई जनताको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गरे ।

यसैगरी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले दुवै जिल्लाका अन्तरपालिकाका जनप्रतिनिधि सम्मिलित ‘महाबु बैठक’को निर्णयबाट शान्ति सुरक्षा अमनचयन कायम गर्न अझ सहज हुने बताए ।

कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले बैठकबाट पारित निर्णयलाई प्रदेशसभामा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु