global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चौसट्ठी सिद्धलिङ्ग दर्शन पदयात्रा समापन

चौसट्ठी सिद्धलिङ्ग दर्शन पदयात्रा समापन

चौसट्ठी सिद्धलिङ्ग दर्शन पदयात्रा समापन

काठमाडौँ । आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समापन गरिएको छ ।

पदयात्रा समूहले आज पशुपतिनाथ मूल मन्दिरमा विशेष पूजा, आराधनासहित शङ्कराचार्य मठमा चौसट्ठी सिद्धलिङ्ग कै नामोच्चारणसहित हवन गरेर समापन गरिएको हो । भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदुषित भएकामा भगवान् पशुपतिनाथ एवं बागमतीप्रति क्षमायाचना तथा प्रायश्चित्त गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो ।

महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’ का अध्यक्ष स्वामी रमणानन्द गिरिको सत्सङ्कल्पमा पदयात्रा गरिएको हो । गत चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा बागमती गङ्गाको विशेष आरती गरी १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो । कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदिक्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदल यात्रा गरी समूह अघि बढेको थियो । ४२ दिनमा आइतबार तीर्थयात्रा पशुपति आइपुगेको हो ।

समापन कार्यक्रममा ‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता तथा परिकल्पनाकार स्वामी रमणानन्द गिरिले पशुपति तत्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघु–परिक्रमा, मध्यमपरिक्रमा र बृहत्परिक्रमाका बारेमा जानकारी गराएको थियो ।

विश्वका हिन्दुमात्रका आराध्यदेव तथा नेपाल र नेपालीका राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ श्रीकेदारनाथको समेत शिरोभागका रूपमा प्रतिष्ठित हुनुहुन्छ । भारतका चार धामको दर्शन/तीर्थयात्रापश्चात् श्रीपशुपतिनाथको दर्शन गरेपछि नै चारधामको तीर्थयात्रा प्रयोजनपूर्ण/सार्थक/फलीभूत हुने मान्यता रहेको छ ।

भगवान् श्रीपशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर बागमती तटमा विराजमान भएकाले यसको महत्व उजागर गर्नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् । ‘बृहत् पाशुपत पदयात्रा’ लाई सम्पन्न गर्न ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिको गठन गरिएको थियो ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु