गृहपृष्ठ निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
निजगढको एक होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीन जना पक्राउ
रौतहट । बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बास बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग उक्त होटलमा बसेकी थिइन् । शुक्रबार राति करिब ११ बजे उनलाई निजगढ सामुदायिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। अहिले मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने देखाएको छ । घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनापछि प्रहरीले होटलमा मृतक युवतीसँगै रहेका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला रहेका छन् । प्रहरीले हालसम्म उनीहरूको परिचय भने सार्वजनिक गरेको छैन ।
‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ र दोषी देखिएकाहरूलाई कानुनी दायरामा ल्याइनेछ,’ प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १३:५६ बजे




















