गृहपृष्ठ अझै बनेन पालिकाा घर, जग्गा जुटाउन चन्दाको भर
अझै बनेन पालिकाा घर, जग्गा जुटाउन चन्दाको भर
बागलुङ । स्थानीयतह गठनको नौ वर्ष पग्दासमेत यहाँका केही पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् । बागलुङको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका आफ्नै भवन तयार नहुँदा भाडाको घरबाट सञ्चालन गर्न बाध्य भएका हुन् ।
पाँच वर्ष पहिले सुविधासम्पन्न भवन निर्माण थालेका जैमिनी नगरपालिका र गलकोट नगरपालिकाको भवन निर्माणमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समस्या छ । जिल्लाका अन्य सात स्थानीय तहका भने आफ्नै सुविधासम्पन्न भवन छन् ।
निर्माण थालेको पाँच वर्षमा समेत भवन नबन्दा पालिकाको सेवा प्रवाहनै प्रभावित बनेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । मासिक लाखौँ रुपैयाँ भाडा तिरेर व्यक्तिको साँघुरो घरबाट सेवा प्रवाह गर्न बाध्यता रहेको उनले बताए ।
सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन नौ वर्षको प्रयासपछि जग्गा प्राप्ती गरेको छ । विभिन्न सङ्घसंस्थाले चन्दा सङ्कलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो ।
बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोटलगायतका सङ्घ संस्था र स्थानीयवासीसँग चन्दा सङ्कलन गरेर काठेखोला गाउँपालिका–६ बिहुँको आमपाटामा छ रोपनी जग्गा खरिद गरिएको वडा अध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कँडेलले जानकारी दिए ।
प्रतिरोपनी सात लाख रुपैयाँका दरले ४२ लाखमा छ रोपनी जग्गा खरिद गरिएको हो । स्थानीय चार जनाको जग्गा खरिद गरिएको र केही जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएको कँडेलको भनाइ छ । ‘चार वर्षको प्रयासपछि सबै प्रक्रिया पु¥याई गाउँपालिकालाई सरकारी प्रयोजनार्थ जग्गाधनी–पुर्जा हस्तान्तरण गरियो,’ संयोजक कँडेलले भने ।
लामो समयको अथक प्रयासपछि गाउँपालिकाको प्रशासनिक भवन बनाउन जग्गा प्राप्ति भएको पालिका अध्यक्ष राजु थापाले बताए । जग्गा प्राप्तिमा भूमिका खेल्ने र निःशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ । ‘जग्गा प्राप्ति र केन्द्रको विवाद टुङ्गिएको छ, अब छिट्टै प्रदेश र सङ्घीय मन्त्रालयको प्रक्रिया पुर्याएर प्रशासकीय भवन बनाउने काममा लाग्छौँ,’ अध्यक्ष थापाले भने ।
काठेखोलाको १७ औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत निर्णय गर्दै गाउँपालिकाको प्रशासनिक भवन आमपाटामा निर्माण गर्ने निर्णय गरेको थियो । राजनीतिक दलबीच असहमति र स्थानीयको असहयोगका कारण लामो समयदेखि पालिकाको केन्द्र काठेखोला–२ को अक्षते कि वडा नं ६ को आमपाटा भन्ने विवाद लामो समय चल्यो ।
सर्वदलीय बैठकले अक्षते र सुल्डाँडालाई प्रशासनिक केन्द्र मान्ने र भवन आमपाटामा बनाउने सहमति जुटाएपछि १७ औँ गाउँसभामा सर्वसम्मत निर्णय गरिएको हो । हरेक वर्ष सात लाख रुपैयाँ भन्दा बढी घरभाडा तिर्दै आएको पालिकाले अहिले भीमसेन मविको भवनबाट सेवा दिइरहेको छ ।
प्रकाशित समय : ०८:४९ बजे




















