गृहपृष्ठ बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता
बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता
नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल एक हजार ३२६ जना नयाँ मतदाताले मतदता नामावलीमा नाम दर्ता गरेका छन् । तीमध्ये एक हजार ४८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा र २७८ जनाले अनलाइन तथा कार्यालयमा उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।
निर्वाचन कार्यालयले चैत २२ गतेदेखि मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिन आग्रह गरेपछि जिल्ला निर्वाचन कार्यालयमा भीड लाग्न थालेको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनले दैनिक २० देखि २५ जना दैनिक रूपमा मतदाता नामावलीमा नाम दर्ताका लागि कार्यालयमा आइरहेको जानकारी दिँदै युवा उमेरका मतदाताले अनलाइनबाट आवेदन दिएको उल्लेख गरे। अधिकांश आवेदन दिने २० देखि ४० वर्षसम्मका छन् ।
शाहीका अनुसार मतदाता नामावलीका लागि भौतिक रूपमा उपस्थित हुनेसँगै अनलाइनबाट आवेदन दिने धेरै छन् । “मतदाता नामावलीमा छुटेका देखिन्छन् त्यसैले आवेदन खुला गरिएको छ”, जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख शाहीले भने । प्रमुख शाहीले यो सङ्ख्या बढ्दै जाने उल्लेख गर्दै अनलाइनबाट नै त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्ने कार्य भइरहेको बताउनुभयो । शाहीले अहिले त्रुटि सच्च्याउने तथा अद्यावधिक गर्नका लागि समय धेरै नलाग्ने उल्लेख गरे ।
प्रकाशित समय : १६:१४ बजे




















