काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् ।
माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए ।उनले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राखे ।उनले भने, ‘जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् ।
जनताले अपेक्षाका साथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनका लागि सहयोग गरेका हुन् । नेपालको इतिहासमा दुईवटा अभिसाप छ । नेपाल या त अस्थिरता, लोकतन्त्रका नाममा अस्थिरता र स्थिरताका नाममा लोकतन्त्रमाथिको आक्रमण । हामी सधैं यसबाट गुज्रिएर आइरहेका छौं ।
प्रजातन्त्र र लोकतन्त्रको नाममा हामी अस्थिरता पनि बेहोर्दै आइरहेका छौं । स्थिरताको नाममा निरकुंशता पनि बेहोर्दै आइरहेका छौं ।’
भुसालले मुलुकको आकांक्षा लोकतान्त्रिक स्थिरतासहित समृद्धि भएको बताउँदै विगतमा बनेका बहुमतका सरकारहरू अपेक्षाअनुसार सफल हुन नसकेको टिप्पणी गरे । उनले वर्तमान सरकार सफल होस् भन्ने जनचाहना रहेको उल्लेख गर्दै सरकार बनेको छोटो समयमै भएका गतिविधिले नागरिकलाई चिन्तित बनाएको बताए ।
उनले भने, ‘नेपाल राष्ट्रको आकांक्षा भनेको लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धि खोजेको छ । एकपछि अर्को सरकार आएका छन् र बहुमतका बलिया सरकार पनि आएका छन् । हामीले ती सरकारहरु बेहोरेका छौं, ती सरकारहरुले सफलताका साथ काम गरेनन् र तीनिहरु गएँ । बालेन सरकार नेपाली जनताले चाहेजस्तै सफल होस् लोकतान्त्रिक स्थिरताका साथ । तर दुर्भाग्य के छ भने यो सरकारको पूरा मूल्यांकन गर्न सक्ने बेला भएको छैन ।
सरकार बनेको डेढ महिना नै नहुँदै जे जस्ता गतिविधि भएका छन् यसले नेपाली नागरिकलाई झस्काएको छ। जब नागरिक सरकारसँग डराउँछन् तब त्यसको परिणाम राम्रो हुँदैन । यो सरकारले आफ्ना कमजोरिहरु सुधारोस् भन्नका लागि पनि हामीले ध्यानाकर्षण गराएका हौं । यो सरकारले सुकुम्बासी बस्तीमाथि जुन व्यवहार गर्यो यो ठूलो अत्याचार हो ।’
सुकुम्बासी बस्तीमा गरिएको कारबाहीलाई उनले ठूलो अत्याचारको संज्ञा दिँदै सरकारलाई आफ्ना कमजोरी सुधार्न आग्रह गरे ।




















