गृहपृष्ठ बागमती प्रदेश प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया अन्तिम चरणमा
बागमती प्रदेश प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले प्रदेशमा बोलिने भाषा, यहाँको साहित्य, कला, संस्कृतिको संरक्षणका लागि प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ ।
मन्त्रालयअन्तर्गतको पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेश भाषा दिवस २०८३ मनाउने सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रतिष्ठानसम्बन्धी नियमावली स्वीकृत भएपछि गठन प्रक्रिया अघि बढ्ने जानकारी दिए । प्रदेश भाषा दिवसका अवसरमा वैशाख २४ गते नै नियमावली टुङ्ग्याउने गरी काम भइरहेको मन्त्री श्रेष्ठले बताए ।
“प्रतिष्ठानका विषयमा प्रदेशकै मन्त्रालयलाई बुझाउन लागि परेका छौँ, प्रदेशमा बोलिने मुख्य भाषामा वार्षिक प्रदेश सरकारको करोडौँ रुपैयाँ लगानी भइरहेको छ, के उपलब्धि भयो भन्ने तथ्याङ्क पनि आउनुपर्छ, त्यो आएन भने यसमा गरिएको लगानी बालुवामा पानी हालेझैँ हुनेछ,” उनले भने ।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले भाषा नियमावलीे अर्थ मन्त्रालयबाट स्वीकृत भई आन्तरिक मामिला मन्त्रालयमा पुगेको जानकारी र्दिए । नियमावली टुङ्ग्याउन आन्तरिक मामिला मन्त्रालयले भोलि नै बैठक बोलाएको पनि उनले बताए । प्रदेशमा लिपि कार्यान्वयनमा भने प्राविधिक समस्या आइपरेको र त्यसको समाधानका लागि काम भइरहेको सचिव सुवेदीले बताए ।
पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले प्रदेश सरकारले प्रदेश भाषा ऐन, २०८० जारी गरेका दिन वैशाख २४ गते भाषा दिवस मनाउन लागिएको जानकारी दिए । प्रदेशमा बोलिने सबै मातृ भाषालाई अपनत्व दिने गरी प्रदेश भाषा दिवस मनाउन लागिएको जानकारी पनि उनले गराए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव लोकबहादुर लोप्चनले प्रदेश भाषा दिवस मनाउन थालेसँगै बागमती प्रदेशमा भाषिक सङ्घीयता राम्रो भएको बताए । मातृ भाषामा अध्ययन, अनुसन्धान र विद्यार्थी छात्रवृत्तिलाई गरी वार्षिक रु दुई करोड बजेटको व्यवस्थाले यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।
नेवाः देय् दबुका महासचिव सुनीलकृष्ण महर्जनले प्रदेशमा भाषा ऐन लागू भएको दुई वर्ष पूरा भएर तीन वर्ष लाग्दा पनि प्रज्ञा प्रतिष्ठान र विज्ञ समूह गठन हुन नसकेको बताए ।
नेपाल तामाङ घेदुङका उपाध्यक्ष सञ्जु गुरुङ तामाङले मन्त्रालयका कारण संस्थालाई दिइएका कार्यक्रम आर्थिक वर्षको अन्तिममा हुने गरेको गुनासो गरे ।
प्रकाशित समय : १९:०७ बजे




















