गृहपृष्ठ मेची राजमार्गको राजदुवाली खण्डमा फेरि सास्ती : जाममा परे सांसद राई, दिगो समाधानको माग तीव्र
मेची राजमार्गको राजदुवाली खण्डमा फेरि सास्ती : जाममा परे सांसद राई, दिगो समाधानको माग तीव्र
इलाम । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली–माईखोला भञ्ज्याङ खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको सडक समस्या फेरि सतहमा आएको छ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद निस्कल राई आफैं सडक जाममा परेपछि उक्त खण्डको समस्या थप चर्चामा आएको हो।
सांसद राई आज (शनिबार) इलाम सदरमुकाम आउने क्रममा करिब ३ किलोमिटर लामो राजदुवाली खण्डमा सवारी जाममा परेका थिए। निरन्तर वर्षा, हिलो र सडकको कमजोर अवस्थाका कारण सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरूले घण्टौं सास्ती व्यहोर्नुपरेको थियो।
उक्त खण्ड विशेषगरी माईखोला भञ्ज्याङ क्षेत्रमा बारम्बार पहिरो झर्ने, सडक भासिने र हिलो हुने समस्याका कारण परिचित छ । वर्षायाम सुरु भएसँगै समस्या झनै जटिल बन्दै जाने गरेको स्थानीय दिपेश फागोको भनाइ छ । दैनिक रूपमा सवारी सञ्चालनमा कठिनाइ हुँदा यात्रु, व्यवसायी तथा आपतकालीन सेवासमेत प्रभावित हुने गरेका छन्।
जाममा परेपछि प्रतिक्रिया दिँदै सांसद राईले यस समस्याप्रति आफू गम्भीर रहेको बताए। उनले प्रधानमन्त्रीसँग भएको छलफलमा समेत यस विषयलाई प्राथमिकताका साथ उठाएको जानकारी दिए। ‘यो खण्डमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने अत्यावश्यक छ,’ उनले भने, ‘मैले केन्द्र सरकारको ध्यानाकर्षण गराइसकेको छु र चाँडै यसको निकास निकालिने अपेक्षा गरेको छु।’
हाल उक्त सडक खण्डमा ठेक्का लागेर सुधारका कामहरू भइरहेको भए पनि दिगो समाधान भने अझै देखिएको छैन। निर्माण कार्य ढिलो हुनु, प्राविधिक कमजोरी र भू–संरचनात्मक जटिलताका कारण समस्या ‘ज्यूँका त्यूँ’ रहेको सरोकारवालाहरू बताउँछन्।
स्थानीयवासीहरूका अनुसार, सामान्य वर्षा हुँदा पनि सडक हिलोमय बन्ने र सवारी चिप्लिएर दुर्घटनाको जोखिम बढ्ने गरेको छ। ‘हामीले वर्षौंदेखि यही दुःख भोगिरहेका छौं, काम सुरु भए पनि नतिजा देखिएको छैन,’ स्थानीय धुर्ब मैनालीले गुनासो गरे।
यस खण्डको दिगो समाधानका लागि वैज्ञानिक ढंगले सडक निर्माण, पर्खाल तथा नाला व्यवस्थापन, र पहिरो नियन्त्रणका दीर्घकालीन उपाय आवश्यक रहेको विज्ञहरू बताउँछन्।
सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्न नसके आगामी वर्षायाममा समस्या झनै भयावह बन्न सक्ने देखिन्छ। मेची राजमार्ग पूर्वी नेपालका महत्वपूर्ण जीवनरेखामध्ये एक भएकाले यसमा देखिएको समस्या समाधान गर्नु राज्यको प्राथमिकतामा पर्नुपर्ने सरोकारवालाहरूको जोड छ। यात्रुहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न अब ढिलाइ नगरी ठोस पहल आवश्यक देखिएको छ।
प्रकाशित समय : २०:३४ बजे



















