गृहपृष्ठ रामेछापका सुनुवारहरूले विशेष रूपमा मनाए उँभौली अर्थात् चण्डीपूजा
रामेछापका सुनुवारहरूले विशेष रूपमा मनाए उँभौली अर्थात् चण्डीपूजा
रामेछाप : रामेछापका सुनुवार समुदायले उँभौली पर्व अर्थात् चण्डीपूजा विशेष रूपमा मनाएका छन् ।
उमाकुण्ड गाउँपालिकाका सुनुवार समुदायले उमाकुण्ड–४ को चण्डी थानमा मौलोमा राँगोको बलि दिएर चण्डी पर्व मनाएका छन् । त्यस्तै बोका र कुखुराको भालेको बलि दिइएको चण्डी व्यवस्थापन समिति उमाकुण्ड–४ रामेछापका अध्यक्ष विनोदकुमार सुनुवारले जानकारी दिए । आठ पगरी पुजारीले थुम थुममा बसेर रेखी हाली पूजा गर्नुका साथै चण्डी नाच सहित विशेष उत्सवका साथ पर्व मनाइएको उनले बताए । नयाँ पुस्ताले संस्कृति संरक्षणमा त्यति ध्यान नदिँदा यो संस्कार जोगाउन समस्या बढ्दै गएको उनले बताए ।
उँभौली पूर्णिमा पितृ र प्रकृति महिमा आत्मासात गर्दै मनाइने पूर्णिमा हो। वैशाख पूर्णिमाको दिन आदिवासी सुनुवार समुदायले किराँती रीतिअनुसार भूमिको पूजा गरी उँभौली चाड अर्थात् भूमिपूजा गरी सकेला सिली नाच्दै यो पर्व मनाउने गर्दछन् ।
किराँतीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुसी पार्न कालागि हरेक वर्ष बाली लगाउने समय बुद्ध जयन्ती अर्थात् चण्डीपूर्णीमामा उँभौली र अन्न बाली पाकिसकेपछि खुसीयाली मनाउँदै उँधौली (मंसिरे पूर्णिमा) विशेष रूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउने गर्छन् ।
उँभौली पर्वको रूपमा रहेको किराँतीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआओस् भनि चण्डी पूर्णिमा अर्थात् सुम्निमाको सृष्टि भएको दिन यसलाई सांस्कृतिक महोत्सवको रूपमा मनाउने गरिन्छ । आदिवासी किराँतीहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
प्रकाशित समय : १९:२१ बजे




















