गृहपृष्ठ मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट
मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट
रुस । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो ।
रुस नागरिकका अनुसार यो मस्कोको ‘समर सिजन’ थियो । उनीहरु यो त हाम्रा लागि सबैभन्दा राम्रो मौसम हो, अन्य समयमा यहाँ घुँडासम्म हिँउ पर्नु सामान्य हो भन्दै थिए । यही चिसो मौसममा रिम्साय मेट्रो स्टेसन नजिकैको नेपाली रेष्टुरेन्ट ‘करि हाउस’मा नेपालीहरुको जमघट बाक्लो हुँदै थियो । ‘करी हाउस’ मस्कोमा अहिले सञ्चालन भइरहेको एक मात्र नेपाली रेष्टुरेन्ट हो । नेपाली जमघट हुने भएकाले यहाँ सबै किसिमका नेपाली खाना पाइन्छन । नेपाली मःमः यहाँको विशेष बनेको छ । मःमःका पारखी नेपाली मात्रै होइन, रुसी नागरिकहरु पनि बनेका रहेछन् ।
“नेपाली परिकार पाउने इन्डियन रेष्टुरेन्ट पनि होलान् तर नेपालीले सञ्चालन गरेको र नेपाली परिकार पाउने यो एउटा मात्रै रेष्टुरेन्ट हो, अहिले त मःमः पाउने पनि मस्कोको यो एक्लो रेष्टुरेन्ट हो”, सञ्चालक डिल्ली खरेल ‘सुमन’ले भने ।
त्यसो त, यहाँ मःमःसँगै खसीको भुटन पनि उत्तिकै मन पराइएको छ । नेपाली खाना (दाल, भात, तरकारी र अचार) पनि रुसी नागरिकले खुबै मन पराएका छन् । तर चिसो मौसममा स्टिम र झोल मःमःको स्वाद भने बेग्लै छ । रेष्टुरेन्टमा सबै प्रकारका नेपाली खानाका परिकार पनि पाइन्छन् ।
सञ्चालक खरेलका अनुसार यसअघि आफूले अर्को ठाउँमा रेष्टुरेन्ट सञ्चालन गरेका थिए । तर त्यहाँ आगलागी भएपछि झण्डै दुई करोड रुपैयाँ डुब्यो । झण्डै ३० वर्ष मस्कोमा बिताएका खरेलले केही महिना अघि मात्रै यो रेष्टुरेन्ट सुरु गरेका हुन । जुन अहिले नेपालीका लागि भेटघाट गर्ने चौतारी बनेको छ ।
करि हाउसमा नेपाली मःमःको स्वाद लिएपछि माल्दिभ्सका पत्रकार नाजिम हसनले आफूले मस्को आएदेखि सबैभन्दा मीठो परिकार खाएको बताए । नेपाली शैलीका ‘स्टिम’ र ‘झोल’ दुवै प्रकारका मःमः आफूलाई निकै मन परेको उनको भनाइ थियो । उनि चार साता लामो फेलोसिप कार्यक्रमका लागि मस्को आएका हुन ।
हसनसँगै मस्को आएका पत्रकारहरु श्रीलङ्काका आसन्का निलगराथा, भारतकी अर्पिता चौधरी र सौम्या शुक्ला तथा भुटानकी दोर्जी चोदेनले पनि मःमःको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिए । करि हाउस नेपाली रेष्टुरेन्ट मात्रै होइन, मस्कोमा रहेका नेपालीहरुको चौतारी हो भन्दा फरक पर्दैन । करि हाउसको अगाडिको भाग पाहुनाहरुका लागि छु-याइएको छ भने भान्छासँगै जोडिएको पछाडिको सानो हल नेपालीका लागि छुट्याइएको छ । यही हलमा हरेक दिनजसो नेपाली नागरिक जम्मा हुन्छन् ।
यही सानो कोठामा गैरआवासीय नेपालीका समस्यादेखि विद्यार्थी र व्यवसायीका समस्याबारे मन्थन हुन्छन् । एउटा टेबलमा एनआरएनसम्बन्धी छलफल छलिरहँदा अर्को टेबलमा थकान मेट्दै गरेका नेपालीहरु भेटिए । मस्कोमा पनि नेपाली मःमः जस्तै पेलमेनी (डम्पिलङ) पाइन्छ । तर यो मःमः जस्तै देखिए पनि स्वाद भने निकै फरक हुन्छ । एकपटक मःमः खाएपछि दोहोरिएर आउने रुसी नागरिक धेरै भएको सञ्चालक खरेलले बताए ।
गैरआवासीय नेपाली सङ्घ, रुसका अध्यक्ष सिताराम कट्टेल ‘मिलन’ले आफूहरुका लागि यो पायक पर्ने ठाउँ भएको बताए । उपाध्यक्ष सङ्ज्ञान कार्कीलगायतको टोली नयाँ वर्ष, २०८३ को अवसरमा सांस्कृतिक कार्यक्रमको तयारीका लागि छलफलमा व्यस्त थियो ।
“कोरोना महामारीपछि नयाँ वर्षमा हुने सांस्कृतिक कार्यक्रम आयोजना हुन सकेको थिएन, तर यसपटक हामीले यसलाई पुनः निरन्तरता दिने जमर्को गरेका छौँ, यो विदेशमा नेपाली कला र संस्कृति संरक्षण गर्ने एउटा अवसर हो”, एनआरएनए, रुसका अध्यक्ष कट्टेलले सुनाए ।
प्रकाशित समय : १३:५५ बजे




















