nmb bank

गृहपृष्ठ मेडिकल कलेज निर्माणको एक दशकको सपना पूरा हुने आस

मेडिकल कलेज निर्माणको एक दशकको सपना पूरा हुने आस

मेडिकल कलेज निर्माणको एक दशकको सपना पूरा हुने आस

महोत्तरी । मधेसको बर्दिवासमा मेडिकल कलेज बन्ने करिब एक दशकको सपना साकार हुने आस जागेको छ । आर्थिक वर्ष २०७४/७५ मा सङ्घीय सरकारको बजेटमा सम्बोधन गरिएपछि सँगालिएको बर्दिबास मेडिकल कलेज निर्माणको सपना करिब एक दशकपछि आसलाग्दो गरी गति लिएपछि नगरक्षेत्रमा उत्साह बढेको हो ।

“प्रक्रियाले अन्तिम रूप लिएको छ”, बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले भने, “योसँगै यहाँ मेडिकल कलेज बन्ने सपना पूरा हुने भयो ।” कलेज निर्माणका लागि प्रस्तावित बर्दिबास–४ माईस्थान वनक्षेत्रको ५४ दशमलव ५८४ हेक्टर जग्गाको सट्टा भर्ना रकम वन विकास कोषमा जम्मा गर्न डिभिजन वन कार्यालय महोत्तरीले लागत अनुमान रकम यकिन गरेर वन तथा भू–संरक्षण विभागमा पत्राचार गरेसँगै प्रक्रिया निर्णायक तहमा पुगेको उनको भनाइ छ ।

आव २०७४/७५ मा सङ्घीय सरकारले मुलुकका सबै प्रदेशमा एकरएक मेडिकल कलेज निर्माणको अवधारणा ल्याएसँगै मधेसको बर्दिबास मेडिकल कलेजका लागि बजेटमा विनियोजन भएको थियो । लगत्तै २०७५ वैशाखमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिबास–१ मा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गरेसँगै संस्थागत प्रयत्नको थालनी भएको हो ।

यसअघि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जग्गा यकिन गर्न गठन गरेको कार्यदलले बर्दिबास–४ माइस्थानको अटावे खोल्सी पूर्व, भब्सी खोला पश्चिम, पूर्वपश्चिम महेन्द्र राजमार्ग उत्तर र माइस्थान–बर्दिबास सडकदेखि दक्षिणको ५४ दशमलव ५८४ हेक्टर वन क्षेत्रको जग्गा कलेज निर्माणका लागि उपयुक्त हुने प्रतिवेदन विसं २०७४ मा दिएको थियो ।

आयोजना कार्यालय सञ्चालन भए लगत्तै सो प्रस्तावित जग्गा कलेजलाई दिन नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि प्रक्रिया अल्झिएको थियो । सर्वोच्च अदालतले विसं २०८० जेठ २९ गते कलेज निर्माणका लागि प्रस्तावित स्थलका काटिने रुख एक हजार ९६७ को १० गुणा बढी अर्थात् १९ हजार ६७० नयाँ बिरुवा रोपेर ती सरेको प्रमाणित भएपछि आयोजनाको काम अघि बढ्न सक्ने आदेश गरेपछि थप प्रक्रियाले गति लिएको नगरप्रमुख क्षेत्रीले बताए ।

“अदालतको आदेश लगत्तै २०८० सालको असारमा बर्दिबास–५ को टुटेश्वरस्थित माण्डवीगङ्गा (मडहा) र सोनामती ९सोनी० नदी किनारमा २३ हजार बिरुवा रोपिएको वृक्षारोपण क्षेत्र विभागका उच्च अधिकृतको गत चैत अन्तिम साताको स्थलगत अनुगमनमा बिरुवा सरेको र चारैतिर काँडेतार घेराबेरा गरेर सुरक्षा गरेको पाइएपछि जग्गा सट्टाभर्नाको लागत अनुमान गरी पठाउन डिभिजन वन कार्यालय महोत्तरीलाई पत्राचार गर्‍यो”, उनले भने ।

अहिले सो लागत अनुमान प्रतिवेदन विभागमा पुगेपछि थप प्रक्रिया अघि बढ्ने क्रममा रहेको आयोजना कार्यालयका निर्देशक निर्मल घिमिरेले बताए । “वन विकास कोषमा जम्मा गरिनुपर्ने रकमको यकिन भएको छ । विभागले हामीलाई कोषमा रकम जम्मा गर्न भनेपछि प्रक्रियामा अघि बढाएका छौँ”, उनले भने, “कोषमा रकम राख्ने प्रक्रियासँगै जग्गा प्राप्ति र रुख कटानको अनुमति सँगसँगै बढ्छ, प्रक्रिया अहिलेकै गतिमा काम भए यी काम चालु आवभित्र सम्पन्न हुनेछन् ।”

आयोजनाले रु २६ करोड ४६ लाख नौ हजार ५२५ वन विकास कोषमा जम्मा गर्नुपर्ने लागत अनुमान प्रतिवेदनको ठहर भएको घिमिरेले जानकारी दिए । लागत अनुमान प्रतिवेदनमा वन क्षेत्र प्रयोगको स्वीकृतिबापत ५४ दशमलव ५८४ हेक्टर क्षेत्रको सट्टा भर्ना स्वरूप १९ करोड १० लाख ४४ हजार निर्धारण गरिएको छ ।

यसैगरी सट्टा भर्ना गरिएको जग्गामा वृक्षारोपण गर्न छ करोड ४२ हजार ४०० र हटाइने रूख तथा पोलको सट्टामा वृक्षारोपण गर्न एक करोड ३५ लाख २३ हजार १२५ खर्च हुने अनुमान छ । यी तीनै शीर्षकको जम्मा रकम २६ करोड ४६ लाख नौ हजार ५२५ तोकिएको घिमिरेले स्पष्ट पारे ।

आयोजना कार्यालय विसं २०७५ मा स्थापना गरिए पनि कलेज बन्न प्रस्तावित जग्गाको स्वीकृति डिभिजन वन कार्यालय महोत्तरी र मधेस प्रदेश सरकारले केही महिना पहिले मात्र दिएका हुन् । कलेजको जग्गा प्राप्तिका निर्णायक प्रक्रिया चालु आव २०८२/८३ मा हुनुले बर्दिबास नगरवासी अब भने काम अघि बढ्ने विश्वासमा छन् ।

“अब जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेछ, यसपालि धेरै कामले गति लियो”, बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव केदार गौतमले भने, “यो कलेज निर्माणले बर्दिबासलाई मधेसकै शैक्षिक केन्द्र बनाइने स्थानीय प्रतिबद्धतामा ठुलो सफलता मिल्ने छ ।”

यसैगरी बर्दिबास–४ का वडाध्यक्ष अक्कलबहादुर तामाङले आफ्नो ठाउँमा कलेज निर्माणको प्रक्रियाले गति लिएसँगै स्थानीय बासिन्दामा अब विभिन्न क्षेत्रका पूर्वाधार विकास र सहर विस्तार हुने आस बढेको बताए ।

बर्दिबास मेडिकल कलेजका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रस्ताव ९डिपिआर०मा उल्लेख छ । निर्माण हुने दुई भवनमा ६०० र ४०० शय्या हुनेछन् । दुवै भवनमा गरी एक हजार श्ययाको अस्पताल, यस अतिरिक्त मेडिकल कलेज भवन, प्रशासनिक कक्ष, प्राध्यापक तथा कर्मचारी आवास, छात्रावास र कुरुवा घरलगायत भौतिक संरचना निर्माण गरिने प्रस्तावमा उल्लेख छन् । यो विस्तृत परियोजना प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरिसकेको निर्देशक घिमिरेले जानकारी दिए ।

कलेज निर्माणका लागि प्रक्रियाले गति लिएपछि बर्दिबासका बासिन्दा उत्साही बनेका छन् । कलेज निर्माणले आफ्नो ठाउँ मधेस प्रदेशकै चिकित्सा शिक्षाको केन्द्र बन्ने बताउँछन् । बर्दिबास चिकित्सा क्षेत्रमा मधेसको मुख्य अध्ययन केन्द्र बन्ने यहाँका बासिन्दाले आस सँगालेका छन् ।

प्रकाशित समय : ०६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु