nmb bank

गृहपृष्ठ पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै

पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै

पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै
गण्डकी । स्थानीय जातका गाईहरूको संरक्षण गरिरहेको पोखरा महानगरपालिका-१५ मजुवास्थित पोखरा गौशाला ‘गौ तीर्थस्थल’का रूपमा विकास गर्न थालिएको छ । विसं २०७४ देखि बेवारिसे स्थानीय जातका गाईहरूको संरक्षण गर्दै आएको गौशालामा हाल १२१ गाईगोरु संरक्षित रहेका गौशालाका प्रमुख सञ्चालक नन्दगोपाल दास(इञ्जिनियर नरेन्द्र कुँवर)ले जानकारी दिए ।
स्थानीय गाईको महत्त्वलाई दृष्टिगत गर्दै यसको संरक्षणको उद्देश्यका साथ भारतको प्रतिष्ठित टाटा कम्पनीमा कम्प्युटर इञ्जिनियरको रोजगारीलाई छोडेर स्थानीय जुरो हुने गाईगोरुको संरक्षणका लागि नेपालमा फर्किका कुँवरले गोरखनाथ मन्दिरबाट ल्याइएका पाँच वटा गाईबाट संरक्षण अभियान थालेकी हुन ।
“हामीले स्थानीय जातका बेद-लक्षिणा गाईको महत्त्व बुझ्न र बुझाउन सकेका छैनौँ”, उनले भने, “यी गाईको महत्त्व बुझाउनुका साथै यिनीहरूको संरक्षण र सेवाकै लागि गौशाला सञ्चालन गरिएको हो ।” गाईको महत्त्वलाई हिन्दू धर्मग्रन्थमा वर्णन गरिएको पाइन्छ ।
हिन्दू धर्म संस्कारअनुसार मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म गाईको आवश्यकता पर्दछ । हरेक पूजाआजा तथा धार्मिक अनुष्ठानमा गाईको दूध, दही, घ्यु, गहुँत र गोबर मिलाएर तयार गरिने पञ्चगव्य खाएर मात्रै कार्य सुरु गरिनुले पनि यसको महत्त्वलाई उजागर गरेको छ ।
पाँचवटा गाई ल्याएर सुरु गरिएको गाई संरक्षण अभियान हालसम्म आइपुग्दा उक्त सङ्ख्या १२१ पुगेको गौशालाका प्रमुख सञ्चालक कुँवरले जानकारी दिए । गाईपालनका लागि १० रोपनी जग्गा न्यूनतम मूल्यमा भाडामा लिएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका अन्य सार्वजनिक जग्गालाई गौचरणका रूपमा उपयोग गरिएको बताए । उनका अनुसार गाईपालनका लागि चार जना कर्मचारी कार्यरत छन् ।
गाईहरू दिउँसो चरन क्षेत्रमा हुने भए पनि बेलुका गोठमा रहेका अवस्थामा जम्मा हुने मललाई गड्यौला मल बनाउनका लागि उपयोग गरिएको कुँवरले जानकारी दिए । गड्यौला मलबाट वार्षिक दुई लाखसम्म आम्दानी हुने जनाउँदै उनले गौशाला सञ्चालनमा सोही रकम परिचालन भइरहेको बताए । चरन क्षेत्रमा हुने गाईको मल भने यहाँका आसपासका स्थानीयले आएर तरकारीखेतीका लागि लग्ने गरेका छन् ।
स्थानीय जातका गाई भएकाले दूध उत्पादन भने खासै नहुने बताउँदै उनले दैनिक आठदेखि १० लिटरसम्म दूध उत्पादन हुने गरेको उल्लेख गरे । उत्पादित केही दूध नजिकै रहेको राधेराधे मन्दिरमा लैजाने गरिएको छ । गौशालाका लागि यसअघि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखराले दुई चरणमा गरी पाँच-पाँच लाखको लागतमा दुईवटा गोठ निर्माण गरिदिएको छ । यहाँका गाईको पालनपोषणमा पोखरा महानगरपालिका-१५ ले दुई वर्ष लगातार  एक(एक लाखसहयोग गरेकोमा यस वर्ष भने ७५ हजार मात्र विनियोजन गरेको उनले जानकारी दिए ।
यहाँ रहेका गाईको आहारा तथा खटिने कर्मचारी व्यवस्थाका लागि वार्षिक न्यूनतम ३० लाखसम्म खर्च हुने गरेको जानकारी दिँदै उनले यसका लागि विभिन्न दाता तथा सहयोगीबाट पाउने सहयोगले राहत मिलेको बताए ।
गाईको महत्त्व तथा संरक्षणको विषयलाई विभिन्न धर्मग्रन्थमा पनि उल्लेख गरिएको पाइन्छ । भविष्य पुराणमा भनिएको छ, ‘गौशाला निर्माणाय यः प्रयच्छति वित्तकम् । स सर्वपापविनिर्मुक्तो मोक्षमावाप्नुयात् ध्रुवम् ।।’, अर्थातः जो गौशाला निर्माणका लागि धन दान गर्छ उ सबै पापबाट मुक्त भई मोक्ष प्राप्त गर्छ ।
भविष्य पुराणकै अर्को श्लोकमा, ‘न गोसदृशं तीर्थ न गोसदृशं तपः । न गोसदृशं दानं न गोसदृशं सुखम् ।।”, अर्थात् गाईको सम्मानजस्तो तप छैन, गाईको हितमा गरिएको दानजस्तो दान छैन र गाईको आर्शिवादजस्तो सुख छैन’, भनिएको छ । वेद तथा उपनिषद्हरूमा गाईको महत्वलाई धेरै किसिमबाट वर्णन गरिएको गौशालाका प्रमुख सञ्चालक कुँवरले जानकारी दिए ।
दिगो व्यवस्थापन र खर्च धान्ने चिन्ता
गौशालामा ठूलो सङ्ख्यामा गाईहरू संरक्षण गरेर राखिए पनि यसको लागि दिगोे स्रोत नहुँदा खर्च पुर्‍याउन भने गाह्रो हुने गरेको छ । विभिन्न दाताहरूबाट समयसमयमा आउने सहयोगले केही मात्रामा राहत मिलेपनि राज्यका तर्फबाट अपेक्षित सहयोग पाउन नसकेका पोखरा गौशाला संरक्षण समितिका अध्यक्ष ललित कुँवर थापाले  बताए ।
“व्यक्तिगत रूपमा जन्मोत्सव, विवाहोत्सवका साथै विभिन्न तिथि, मिति र चाडपर्वमा विभिन्न व्यक्तिहरूबाट आउने गरेको सहयोगले केही राहत पुगेपछि यसको दीर्घकालीन व्यवस्थापन हाम्रो चिन्ताको विषय छ”, उनले भने । संस्थाले वर्षको ३६५ दिनमा हरेक दिनका लागि गाईको सेवाका लागि एकरएक जना दाता खोज्ने पहलसमेत बढाएको संरक्षक कुँवरले बताए । संस्थाका तर्फबाट जन्मोत्सव, विवाहोत्सव, वैवाहिक वर्षगाँठलगायत विभिन्न सन्दर्भमा सहयोगका लागि आह्वानसमेत गरिएको उनले उल्लेख गरे ।
गौ सेवा आश्रमलाई गौ तीर्थस्थलका रूपमा विकास गर्दै यसलाई आध्यात्मिक, शैक्षिक र वातावरणीय चेतनाको केन्द्र बनाउने आफूहरूको सोच रहेको उनको भनाइ छ । पोखराको बुद्धचोकबाट रामबजार, पोखरा-१५ को वडा कार्यालय, गलेश्वरचोक, फुलबारी रिसोर्ट पूर्वगेट हुँदै यस गौशालासम्म पुग्न सकिन्छ ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु