nmb bank

गृहपृष्ठ छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा । जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् ।

स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताए । छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उनले जानकारी दिए ।

तिब्बती सीमाना आसपासको छेके र बाजुलगायतका लेकमा पुगेर यार्सागुम्बा सङ्कलन गर्ने गरिएको छ । हरेक याममा याक, चौँरी, घोडामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लावालस्करसहित स्थानीयवासी लेकतिर जाने गरेका छन् ।

“लेक गएपछि एक महिनासम्म उतै पाल टाँगेर बस्छौँ”, लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भने, “घर कुर्न बुढापाका गाउँमा बसे पनि अरु सबै उत्तै जाने गरेका छौँ । कोही गइसके, कोही जाँदैछन् ।”

यार्सागुम्बा बेचेर वर्षदिनको खर्चको जोहो गर्नुपर्ने भएकाले सबै काम छोडेर लेकतिर जाने गरेको लामाले बताए ।

यहाँको लेकमा यार्सागुम्बा सङ्कलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध छ । स्थानीयले भने समितिलाई जनही ५०० शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएका छ ।

विगत वर्षहरूमा यार्सागुम्बा सङ्कलन गर्न अभिभावकसँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए । यस वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयले बताएका छन् । यस कार्यले बालबालिकाको पढाइमा सघाउ पुग्ने विश्वास गरिएको विद्यालयका मुख्य लामा पासाङ फुञ्जोले बताए ।

“हाम्रो करुणा स्वास्थ्य संस्थाले जोसेफ फर डिग्निटी भन्ने विदेशी संस्थाको सहयोगमा वुद्ध आधारभूत विद्यालयलाई चुमगुम्बामा ल्याएर आवासीय सुविधासहित पढाउने व्यवस्था गरेका छौँ”, पूर्ववडाध्यक्षसमेत रहनुभएका पासाङले भने, “यस कार्यपछि अभिभावकहरू लेकतिर गए पनि बालबालिकाहरू छात्रवासमा बसेर पढ्न पाउने छन् । अब विगतमा जस्तो स्कुल बिदा हुँदैन ।”

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु