nmb bank

गृहपृष्ठ आठ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

आठ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

आठ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँगको सहकार्यमा वडा स्तरीय तालिम सञ्चालन भइरहेका छन् ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भने, ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’

वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उनले भने, ‘सिप सिकेको राम्रो । तर, सकेसम्म यो सिपको प्रयोग गर्नु नपर्ने अवस्था हुनु राम्रो हो । परि हालेका बेला कसैले पनि पछाडि हट्नु हुँदैन ।’

स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भने, ‘करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धि गर्नमा खर्च गरिरहेका छौँ ।’

तालिममा सिकेको सिप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र बिर्सेर आतपका बेला काम नलाग्न सक्छ । कार्यक्रममा वडा सदस्य जितेन्द्र खड्गीले भन्नुभयो, ‘प्रशिक्षार्थी आफैँको तत्परताले नियमित अभ्यास सम्भव छ ।’

दक्ष प्राथमिक उपचारकर्ता उत्पादन गर्ने महानगरपालिकासँगको सम्झौतालाई गुणस्तरीय दायित्वका रूपमा पूरा गर्ने बताउँदै रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले अहिलेको लगानी विपदका समयमा काम लाग्ने बताए ।
तालिमका प्रशिक्षक राजाराम श्रेष्ठले तालिममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहका सहभागी हुनुभएको, २३ जना महिला र २ जना पुरुष सहभागी भएका जानकारी दिए ।

प्रशिक्षार्थीहरुले, घरमै बसिरहेको बेला महानगरपालिकाले अवसर दिएको, सुरुमा तालिमलाई औपचारिक रूपमा मात्र लिएको तर सिक्दै गएपछि अझ धेरै सिक्न बाँकी रहेछ भन्ने महसुस भएको प्रतिक्रिया दिए ।

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था बिग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सिप सिकाइन्छ ।

प्रकाशित समय : ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु