गृहपृष्ठ नेकपाको स्थापना दिवसः जनसेवामा लाग्ने नेताहरूको प्रतिबद्धता
नेकपाको स्थापना दिवसः जनसेवामा लाग्ने नेताहरूको प्रतिबद्धता
काठमाडौं । नेपालमा आजैका दिन २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विभिन्न समूह र नाममा विभाजित रहेको छ ।
नेकपाको संस्थापकमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेका थिए । विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्ने पुष्पलाल श्रेष्ठले स्थापना गरेको कम्युनिष्ट पार्टी विभिन्न नाम र समूह टुटफुट र एकताको चरणबाट अघि बढ्दै आएको छ ।
मुलुकमा कम्युनिष्ट पार्टी विभाजित हुँदा गत फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपरेको छ । विसं २०७४ को निर्वाचनमा झण्डै दुई तिहाइ सिट नजिक रहेको कम्युनिष्ट पार्टी अहिले ३२ सिट प्राप्त गरेका छन् । एमाले प्रत्यक्षमा नौ सिटसहित २५ सिट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा आठ स्थानसहित १७ सिट प्राप्त गरेका छन् । यही पृष्ठभूमिमा आज नेकपा (एमाले) एवं नेकपालगायत पार्टीले ७७ औँ स्थापना दिवस मनाएर निर्वाचनको गम्भीर समीक्षासहित आफूहरू सच्चिएर जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपाकै अग्रणीधारका रूपमा एमाले, नेकपा, नेकपा (माले)लगायत कम्युनिष्टका प्रमुख पार्टी मुलुकका क्रियाशील रहेका छन् । विसं २०७४ को निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा झण्डै दुई तिहाइको जनमत हासिल मात्र भएन २०७५ जेठ ३ गते पार्टी एकता पनि भयो तर त्यो लामो समय टिक्न सकेन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाभित्रको विवादका बीच प्रतिनिधिसभा विघटन गरेपछि विभाजित हुन पुगेको नेकपा पछि सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् पार्टीमा फर्किएका थिए । एमाले र माओवादी केन्द्रले पालैपालो नेपाली कांग्रेससँग तालमेल सत्ता गठबन्धन गरेपछि कम्युनिष्टहरूबीच फाटो बढ्दै गयो । यहीबीचमा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा एकीकृत भएको छ ।
नेकपाको ७७ औँ स्थापना दिवसका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का नेताहरूले निर्वाचनको पराजयलाई स्वीकार गर्दै आफूहरू जनताको बीचमा गएर थप मेहनत गर्ने बताएका छन् । सो पार्टीका उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताले जनतासँग नजिक भएर पुनः राष्ट्रिय राजनीतिमा स्थापित हुने बताए ।
उपाध्यक्ष बादलले नेपालमो समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको विषयमा आफूहरूले समीक्षा गर्ने अहिलेको पराजयलाई विजयमा रूपान्तरण गर्न एकताबद्ध हुने नयाँ सङ्कल्प गरेर अघि बढ्ने बताए । विसं २००६ सालमा सानो बिरुवाका रूपमा रोकिएको नेकपा आज विशाल वृक्षमा रूपान्तरित भएको र जनतामा कम्युनिष्टधारको मूल धार एमाले हुन सकेको बताए ।
उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादले एकपटक मात्र होइन, बारम्बर जनताको विश्वास जितेर अघि बढ्नुुपर्ने मर्म रहेको उल्लेख गर्दै निरन्तर जनतामा जाने र जनताबाट अनुमोदित हुनुको विकल्प नभएको बताए ।
महासचिव पोखरेलले पार्टीको विधानमा युवा र महिलालाई नेतृत्वमा आरक्षणको पहिलो अभ्यासकर्ता आफ्नो पार्टी भए पनि त्यो वर्गको विश्वास लिन र सामाजिक सञ्जालको दुरूपयोगलाई रोक्ने सही मनसायलाई युवामाझ बुझाउन नसकिएको बताए । “हामी यसबीचमा सत्तामुखी र केन्द्रमुखी भएछौँ भन्ने बुझ्नुपर्छ । आफूलाई सच्याउन जनतातिर फर्कनुपर्छ । हामीले गरेका राम्रा कुराहरूलाई पनि जनताका बीचमा लान नसकेको कुरा स्वीकार्नै पर्छ ।”
पार्टीका सचिव पद्मा अर्यालले स्थापना दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली आउने तयारी भए पनि स्वास्थ्यलाभ गरिरहेका कारण आउन नसक्नुभएको जानकारी दिइन ।
विसं २०४७ मा माले र नेकपा (माक्र्सवादी)बीच एकीकरण गरेर बनेको एमाले २०५४ सालमा विभाजन भएको थियो । तत्कालीन एमालेका नेता वामदेव गौतमले एमालेबाट अलग भई माले गठन गरेका थिए । पछि नेता गौतम सहितलगायत सबै ठूला नेता एमालेमा मिसिए पनि सिपी मैनाली आएनन । उनले माले पार्टीको नेतृत्व गरिरहेका छन । गौतम अहिले प्रचण्ड नेतृत्वको नेकपामा पुगेका थिए ।
अहिले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र रन्जिता श्रेष्ठले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी मिलि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यति धेरै पार्टी मिलेको पार्टीले पनि निर्वाचनमा राम्रो स्थान ल्याउन सकेन ।
यस्तै नेकपा (माओवादी केन्द्र)बाट अलग भएर नेता मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द्र लगायतले पनि अलग पार्टी गठन गर्नुछ । यस्तै तत्कालीन माओवादी केन्द्रबाट अलग रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेका छन् । उता मोहनविक्रम सिंहले नेकपा (मसाल)र राष्ट्रिय जनमोर्चा तथा नारायणमान विजुक्छेले मजदुर किसान पार्टी गठन गरेर नेतृत्व गरिरहेका छन ।
प्रकाशित समय : १९:२२ बजे



















