global ime bank Long Banner Ad

गृहपृष्ठ खानेपानी उपभोक्ता समितिहरूको क्षमता विकासका लागि तीन दिने तालिम सुरु

खानेपानी उपभोक्ता समितिहरूको क्षमता विकासका लागि तीन दिने तालिम सुरु

खानेपानी उपभोक्ता समितिहरूको क्षमता विकासका लागि तीन दिने तालिम सुरु

काठमाडौं । खानेपानी उपभोक्ता समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राजधानीमा तीन दिने तालिम कार्यक्रम सुरु भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम (यूएन–ह्याबिटाट) को संयुक्त आयोजनामा उक्त तालिम सुरु भएको हो ।

यही वैशाख १० गतेसम्म सञ्चालन हुने यस तालिममा देशका विभिन्न स्थानका २४ वटा खानेपानी उपभोक्ता समिति तथा व्यवस्थापन बोर्डका ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

तालिमको उद्देश्यबारे जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले उपभोक्ता समितिहरूलाई दक्ष बनाएर खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र दिगो बनाउनु रहेको बताए । स्थानीय स्तरमा खानेपानी समितिहरू महत्त्वपूर्ण संरचना हुन् । उनिहरुको नेतृत्व र व्यवस्थापन क्षमता बढेमा सेवा प्रवाह स्वतः प्रभावकारी हुन्छ,‘ श्रेष्ठले भने ।

तालिमका क्रममा सहभागीहरूलाई नेतृत्व विकास, संस्थागत एवं आर्थिक व्यवस्थापन, महसुल निर्धारण प्रक्रिया, सेवाको गुणस्तर सुधार र खरिद प्रक्रियाका मापदण्डका विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् । तालिमको पहिलो दिन राष्ट्रिय सानासहकारी महासंघका अध्यक्ष खेम ओली, नगर विकास कोषका विज्ञ सुभाषराज पन्त, खानेपानी विज्ञहरू चोकप्रसाद धिताल र कमल अधिकारी, मन्त्रालयका प्रतिनिधि योगेन्द्र चित्रकार, विभागका सुरत बम तथा कार्यकारी निर्देशक श्रेष्ठले विषयगत प्रस्तुति दिएका थिए । विज्ञहरूले आयोजना सञ्चालन गर्दा अपनाउनुपर्ने प्राविधिक एवं प्रशासनिक प्रक्रिया र वित्तीय अनुशासनका बारेमा जोड दिएका थिए ।

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रका उपभोक्ता समितिहरूलाई लक्षित गरी पहिलो पटक आयोजना गरिएको यस प्रकारको तालिमले व्यवस्थापकीय र प्राविधिक ज्ञानको कमीका कारण उत्पन्न चुनौतीहरूलाई समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिमले स्थानीय स्तरमा खानेपानी सेवालाई थप व्यवस्थित र उत्तरदायी बनाउने विश्वास आयोजकको छ ।

प्रकाशित समय : ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु