गृहपृष्ठ सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : भीड व्यवस्थापनमा कमजोरी र कर्मचारीमाथि दुव्र्यवहारको आरोप
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : भीड व्यवस्थापनमा कमजोरी र कर्मचारीमाथि दुव्र्यवहारको आरोप
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीहरूको लामो समयदेखि अत्यधिक भीडभाड हुँदा सेवा प्रवाह अस्तव्यस्त बनेको छ । निरन्तरको चाप र फितलो व्यवस्थापनका कारण सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।
कार्यालयमा नागरिकता बनाउन, प्रतिलिपि लिन र अन्य प्रशासनिक कामका लागि आउनेहरूको भीड बिहानैदेखि लाग्ने गरेको छ । घण्टौँसम्म लामो लाइनमा बस्दा पनि काम नहुने र कतिपय अवस्थामा रित्तो हात घर फर्किनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले सेवाग्राहीको सङ्ख्या अत्यधिक भएकाले व्यवस्थापनमा केही समस्या देखिएको स्वीकार गरेका छन् । उनले कर्मचारी अभाव र सीमित स्रोत साधनका कारण सेवा प्रवाहमा चुनौती थपिएको बताए ।
यद्यपि, सेवाग्राहीहरूले भने कर्मचारीको कार्यशैली र व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । नागरिकता फाँटमा कार्यरत कर्मचारी नवराज अधिकारी लगायतका कर्मचारीहरूले सेवाग्राहीसँग दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ । कर्मचारीहरूले कार्यालय प्रमुखको निर्देशनसमेत बेवास्ता गर्दै मनोमानी ढंगले काम गर्ने गरेको गुनासो समेत बाहिरिएको छ ।
‘बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउन घण्टौँ लाग्छ, कर्मचारीको व्यवहार रुखो छ । कहिलेकाहीँ त दिनभर कुर्दा पनि कामै नभई फर्किनुपर्छ,’ एक पीडित सेवाग्राहीले बताए । एकातिर कर्मचारी अभावको समस्या र अर्कोतिर कार्यरत कर्मचारीहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण सर्लाही प्रशासनको सेवा प्रवाहमाथि प्रश्नचिन्ह खडा भएको छ । सर्वसाधारणले सेवा प्रक्रियालाई सहज र झन्झटमुक्त बनाउन माग गरेका छन् ।
प्रकाशित समय : ०९:४३ बजे



















