गृहपृष्ठ पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु
पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु
इलाम । जिल्लाको सूर्योदय नगरपालिका – ५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ । अभियानमा सात वटा सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षकलाई सहभागी गराइएको हो ।
रचनात्मक लेखन, प्रस्तुतीकरण र आलोचनात्मक विश्लेषणका सन्दर्भमा नियमित दुई वर्ष कक्षा सञ्चालन गरिने सूर्योदय-५ का वडाध्यक्ष उर्गेन बम्जनले बताए । उनका अनुसार विद्यार्थी र शिक्षकको पठन सीप सुधार गर्ने उद्देश्यले पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा अभियान सुरु गरिएको हो ।
“हामी एक साताको लक्ष्य लिएर प्रत्येक विद्यार्थीलाई कति सहभागी गराउन सकिन्छ सोही अनुसार अगाडि बढ्ने योजना बनाउँछौँ”, वडाध्यक्ष बम्जनले भने, “पहिलो चरणमा कक्षा ७ सम्मका बच्चालाई सहभागी गराइएको छ ।”
अभियानका सहजकर्ता पाइला फाउण्डेसन नेपालका नरेन्द्र नगरकोटीले पठन संस्कृतिलाई आत्मसाथ नगर्दा हाम्रो रचनात्मक क्षमता हराउँदै गएको बताए । “बालबच्चाले पुस्तक पढ्ने की नपढ्ने भन्ने कुरा घर, विद्यालय, प्रविधि र समाजले प्रभाव पारिरहेको हुन्छ”, उनले भने, “अभिभावकले किताब पढ्ने बानी नदेखाए बालबालिकाले त्यसलाई महत्व दिन सक्दैन ।”
डिजिटल आकर्षणको प्रभावले पुस्तक अध्ययन गर्ने बानी हराउँदै गएपछि नगरपालिकाले यस वडाबाट अभियान सुरु गरेको कार्यवहाक नगरप्रमुख दुर्गाकुमार बरालले बताए । “मोबाइलमा खेलिने खेल, भिडियो र सामाजिक सञ्जालले तुरुन्तै रमाइलो दिँदो रहेछ”, उनले भने, “किताबले ध्यान र समय माग्ने भएकाले बच्चाहरू सजिलै डिजिटलतिर तानिएका छन् । यसको सकारात्मक कम नकारात्मक उपयोग बढी हुन थालेको छ । यो अभियान पालिकाभरि सञ्चालन गर्नेबारे छलफल गर्छौँ ।”
पठन संस्कृति जबरजस्ती नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले यो आकर्षणबाट सुरु हुने धारणा राखे पठन संस्कृतिको विकासका लागि विद्यार्थी मात्रै नभई शिक्षक र अभिभावक जागरुक हुनुपर्ने उनको भनाइ छ । “अभ्यास र आकर्षणले पढ्ने बानी सम्भव छ । विद्यालयमा पाठ्यपुस्तकमा सीमित रहेर अध्यापन गराइयो भने अतिरिक्त पठनप्रति रुची हुँदैन”, उनले भने।
प्रकाशित समय : १९:४२ बजे


















