गृहपृष्ठ यस वर्षको हरिराम जोशी संस्कृति पुरस्कार न्याछ्यौलाई
यस वर्षको हरिराम जोशी संस्कृति पुरस्कार न्याछ्यौलाई
काठमाडौँ । वैशाखः संस्कृतिविद् हरिराम जोशीले स्थापना गरेको ‘हरिराम जोशी संस्कृति पुरस्कार’ यस वर्ष इञ्जिनीयर बदनलाल न्याछ्यौलाई प्रदान गरिएको छ । जोशी रिसर्च इन्ष्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्विद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमाले उक्त पुरस्कार न्याछ्यौलाई हस्तान्तरण गरेको हो ।
पुरस्कारको राशि रु २५ हजार नगदसहित, प्रमाणपत्र र दोसल्ला रहेको छ । हरिरामकी स्व श्रीमती कदमकेशरी जोशीको नाममा स्थापना गरिएको कदमकेशरी जोशी संस्कृति पुरस्कार नृत्याङ्गना विना जोशीलाई दिइएको छ । यो पुरस्कारको राशि पनि रु २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।
पुरस्कार हस्तान्तरण गर्दै पूर्वउपकुलपति माथेमाले व्यक्तिगत तबरबाट स्थापना भएका दुई पुरस्कारले संस्कृतिका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन प्रदान गर्ने बताए । युवा अवस्थादेखि व्यक्तिलाई मौलिक संस्कृतिप्रति आकर्षण गर्नेगरी पाठ्यक्रम निर्माण गरी शिक्षा दिने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा संस्कृतिविद् जोशी, पुरस्कृत व्यक्तित्वद्वय न्याछ्यौ र जोशीले संस्कृतिको क्षेत्र राज्यको कम प्राथमिकतामा परेका बेला व्यक्तिगतस्तरबाट पुरस्कार स्थापना गरेर प्रत्येक वर्ष वितरण गर्ने परम्परा बसालेकामा जोशी रिसर्च इन्ष्टिच्युटको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
प्रकाशित समय : १९:३७ बजे


















