गृहपृष्ठ एप्क्यानमा आन्तरिक विवाद : बाहिरिए निवर्तमान अध्यक्ष प्रज्वल बस्नेत
एप्क्यानमा आन्तरिक विवाद : बाहिरिए निवर्तमान अध्यक्ष प्रज्वल बस्नेत
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी सङ्घ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवाद सतहमा आएको छ।
संस्थाका सञ्चालक तथा निवर्तमान अध्यक्ष प्रज्वल बस्नेतले संस्थाबाट आफू पूर्ण रूपमा अलग हुने घोषणा गर्दै नेतृत्व तहमा गुटबन्दी, व्यक्तिगत स्वार्थ, पदको लोभ, राजनीतिक प्रभाव र सीमित व्यक्तिको नियन्त्रण हावी भएको आरोप लगाएका छन्।
बस्नेतले आफू अब संस्थाको साधारण सदस्यसमेत नरहेको स्पष्ट पारेका छन्। उनले संस्थालाई सदस्यहरूको साझा घर बनाउन खोजिएको भए पनि पछिल्लो समय केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको अखडा बनाइएको आरोप लगाएका छन्।उनका अनुसार पुरानो शैक्षिक परामर्श व्यवसायीहरूको संस्थामा राजनीतिक प्रभाव, सीमित समूहको वर्चस्व र व्यक्तिगत स्वार्थ बढ्दै गएपछि त्यसको विकल्पका रूपमा एप्क्यानको स्थापना गरिएको थियो। नयाँ संस्था स्थापना गर्दा स्वतन्त्र, राजनीतिक प्रभावमुक्त, सदस्यमैत्री र पारदर्शी संस्था बनाउने मुख्य उद्देश्य राखिएको थियो।
बस्नेतका अनुसार सुरुवाती चरणमा त्यो उद्देश्यअनुसार संस्था अघि बढेको पनि थियो। साढे दुई वर्षसम्म उनले घर, परिवार, साथीभाइ र आफन्तभन्दा बढी समय संस्थामा लगानी गरेको दाबी गरेका छन्। संस्थालाई देशभर चिनाउने, सदस्य विस्तार गर्ने, शाखा स्थापना गर्ने, मन्त्रालय र विभिन्न शैक्षिक संस्थासम्म पहुँच पु-याउने तथा आर्थिक रूपमा सबल बनाउने काममा आफू निरन्तर खटिएको उनको भनाइ छ।
‘संस्था आफैं गलत होइन, संस्था भित्रका केही व्यक्ति र उनीहरूको व्यवहार गलत भयो,’ बस्नेतले भनेका छन्, ‘सीमित साथीहरूको स्वार्थका लागि संस्था चलाउन थालिएपछि हामीले त्यहाँबाट सम्बन्ध तोड्नुपरेको हो ।’
बस्नेतका अनुसार छोटो समयमै एप्क्यानलाई पुराना संस्थासरह स्थापित गर्न सफल भएको थियो। सदस्य सङ्ख्या झन्डै २०० पु-याइएको थियो भने पूर्व क्षेत्रमा दुईवटा शाखासमेत स्थापना गरिएको थियो। विभिन्न कलेज, विश्वविद्यालय, सेमिनार र शैक्षिक कार्यक्रमहरूमा एप्क्यानलाई चिनाउने काम भएको थियो।
प्रकाशित समय : ११:०७ बजे



















