global ime bank Long Banner Ad

गृहपृष्ठ हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ

हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ

हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ

यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको सुरुवातदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् ।

इलामको पर्यटकीयस्थल सन्दकपुर क्षेत्र र पाँचथरको पर्यटकीयस्थल साधुटार, पौवा भञ्ज्याङलगायतका स्थानमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ । गत सातादेखि नै परेको हिउँ अझै पनि बिलाएको छैन । लामो समयसम्म हिउँ डाँडामा रहँदा चिसो त बढेको छ नै तर पर्यटकहरुलाई घुमफिरमा अझ हौसला बढाएको छ ।

हिउँ परेसँगै यतिबेला पहाडी क्षेत्रमा सडक तथा खुला क्षेत्रल तथा डाँडापाखामा सेताम्मे हिउँ जम्मा भएको छ । पाँचथरको पौवाभञ्ज्याङ आसपासका घरका छाना, रूख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्मे बनेको छ ।

बढ्दो चिसोसँगै स्थानीयवासीको जनजीवन केही कष्टकर बने पनि त्यस क्षेत्रमा पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सँगालिरहेका छन् ।

हिउँ नदेखेकाहरुका लागि त नयाँ नै हुने भयो तर बाक्लो हिउँमा कारण खेल्ने र रमाउनेहरुलाई पनि नयाँ अनुभूति मिलेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् ।

पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका छन् । आन्तरिकमात्र हैन सन्दकपुर, साधुटारलगायतका पर्यटकीयस्थलमा हाल उत्तिकै संख्यामा विदेशी पर्यटकहरुसमेत रमाइरहेका हुन्छन् । हिउँले विदेशी पर्यटकहरुको बसाइ लम्याइदिएका एक विदेशी पर्यटकले बताए ।

हिउँ परेपछि सडकमा आवतजावत सवारीसाधनमा भने समस्या आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्मे भएका छन् ।

हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् । यस क्षेत्रमा घरबाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन भएको छ । (रासस)

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु