गृहपृष्ठ पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा
पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा
आगामी पुषको २९ देखि माघको १२ गतेसम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने दशांै संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सव आयोजक युनाईटेड क्लबले शनिवार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी दशौं संस्करणको पोखरा महोत्सवको सम्पर्ण तयारी पुरा भएको जनाएको हो ।
महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमीसहित सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लबको आयोजनामा सुरु हुन लागेको हो ।
यसै पुस महिनाको २९ देखि माघको १२ गतेसम्म अमरसिंह चौरमा आयोजना हुने दशांै संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको युनाईटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवकै आयोजना गरी पोखरामा नयाँ गन्तव्य चिडियाखाना निर्माणका लागि पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर (२६ सय ८० रोपनी ) भू–भागमा हाल चिडियाखाना निर्माणको काम भइरहेको छ । सो स्थानमा क्लबको तर्फबाट ५५ लाख रुपैयाँ नगद प्रदान गरेका जनाएको छ ।
चिडियाखाना निर्माण क्षेत्रमा वन्यजन्तु उद्दार केन्द्रको लागि भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजीकरणको लागि बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोर, सिडी बाटो निर्माण सम्पन्न भईसकेको बताउँदै अध्यक्ष गुरुङले बताए ।
चिडियाखाना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट गत आर्थिक वर्ष ७३ लाख २४ हजार ४ सय ७७ रकम विनियोजित भएकोमा जनसहभागिता कटाई निर्माण कार्यअनुसारको ५८ लाख ५९ हजार ८ सय २६ रकमको भुक्तानी भएको युनाईटेड क्लबबाट ५५ लाख, साविकको लेखनाथ नगरपालिकाबाट १० लाख, पोखरा महानगरपालिकाबाट १२ लाख ८८ हजार र साविक जिल्ला वन कार्यालय, कास्कीबाट २४ लाख गरी १ करोड ५१ लाख ४७ हजार ८ सय २६ रुपैया खर्च भइसकेको गुरुङले बताए ।
युनाईटेड क्लबले महोत्सवकै आयोजनाबाट सेती नदी संरक्षणलाई अभियानकै रुपमा अगाडि बढाउदै महोत्सव प्रवेश टिकटबाट प्रति टिकट एक रुपैयाँ छुटाइने बताउदै क्लबले विपद व्यवस्थापनका लागि समेत अक्षय कोष स्थापना गरी अगाडि बढेको गुरुङको भनाइ रहेको थियो ।
हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवमा २ सय ५६ वटा स्टल रहनेछन् ।
महोत्सवले देशको कला, संस्कृति, भेष–भूषाको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने लक्ष्य लिइएको छ ।
आन्तरिक तथा बाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउँदै सम्पूर्ण कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्य लिइएको छ । आर्थिक चलायमान गराई रोजगार सृजना गरी क्षेत्रगत विकासमा टेवा पुर्याई भ्रमण वर्ष २०२० लाई सफल बनाउने महोत्सवको उद्देश्य रहेको छ ।
१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी, हस्तकला सामानहरुको प्रदर्शनी, सूचना प्रविधीहरुको प्रदर्शनी, व्यवसायिक संघ सस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरालगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा, कोमल वली, रामजी खाँड, मिलन लामा, कृष्ण गुरुङ, प्रीति आले, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहालसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
त्यस्तै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका व्याण्डहरु मंगोलियन हर्ट, कोववेव, सुगम पोख्रेल एण्ड बाजा गाजा व्याण्ड, मन्त्र व्याण्ड, सविन राई एण्ड फारोह व्याण्ड, अर्को मुखर्जी एण्ड द कलेक्टिभ ब्याण्ड, लाहुरे, भीटेन, मेलिना राई, सनिश श्रेष्ठ, अनुप्रस्था र लोकल व्याण्डहरुको प्रस्तुती रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
गायनसँगै महोत्सवमा हाँस्यव्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्किने लोक नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, शैक्षिक जगरण सम्बन्धि डकुमेन्ट्रि प्रदर्शनी, चमेना गृहको व्यवस्था, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र बुद्धिचाल प्रतियोगितासमेत हुने श्रेष्ठले बताए ।
प्रकाशित समय : १४:४९ बजे



















