गृहपृष्ठ राष्ट्रियसभा बैठक : ‘राष्ट्रिय हितका लागि दलहरूबीच सहमति र सहकार्यको आवश्यक छ’
राष्ट्रियसभा बैठक : ‘राष्ट्रिय हितका लागि दलहरूबीच सहमति र सहकार्यको आवश्यक छ’
काठमाडौँ । राष्ट्रियसभाका सांसदले राष्ट्रिय हितका लागि दलबीच मेलमिलाप, सहमति र सहकार्यको आवश्यककता औँल्याएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सबै राजनीतिक दल र नेताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्नेमा जोड दिए ।
मुलुक र जनताको हितका लागि सबै दलबीच मेलमिलाप र सहमतिको आवश्यकता औँल्याउदै उनले मुलुकका सबै प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको र कांग्रेसले सहमति र सहकार्यको नीति अपनाएको अवगत गराए।
सांसद थापाले लोकतन्त्रको सुदृढिकरणका लागि वर्तमान सरकारले सहमति र सहकार्यको नीति अपनाउनुपर्ने सुझाए । उनले जलवायु परिवर्तनले नेपाल निकै प्रभावित भएको उल्लेख गर्दै यसका लागि अन्तरराष्ट्रिय मञ्चमा सशक्त कुरा उठाउनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद जयन्तीदेवी राईले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने वर्तमान सरकारको निर्णय गलत र अलोतान्त्रिक भएको टिप्पणी गरे । साथै उनले यसले प्रेस स्वतन्त्रता हनन हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै यो निर्णय सच्च्याउन माग गरे।
सांसद राईले पछिल्लो समय डिजिटल प्रविधिबाट किशोरीमाथि हुने हिंसाका घटना बढेको अवगत गराउँदै यसको नियन्त्रणका लागि सरकारसँग तत्काल र प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । साथै उनले अनलाइन र डिजिटल हिंसा नियन्त्रणका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई अघिबढाउन सरकारलाई सुझाव दिए ।
नेकपा (एमाले)का सांसद सम्झना देवकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरप्तारी गैरकानुनी भएको भन्दै तत्काल रिहाईको माग गरे । साथै उनले गत भदौ २३ र २४ गतेको आन्दोलनको घटनाका दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरे ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता प्राप्त गरेको बताउँदै जनताले राजनीतिक स्थायित्व अपेक्षा गरेको उल्लेख गरे । उनले भ्रष्टचार नियन्त्रण, बढ्दो आयात र मंहगी नियन्त्रण, बन्द उद्योगको सञ्चालन, सन्तुलित पराष्ट्र नीति, सामाजिक न्याय कायम, जनताको हितअनुसार संविधान संशोधनलगायतकार्य सबै दलसँगको संवाद, सहमति र सहकार्यले गर्दा मात्र सफलता प्राप्त हुने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले पश्चिम एसियामा भएको द्वन्द्वले मुलुकमा महंगी बढेको र जनजीवन प्रभावित भएको उल्लेख गर्दै सहजताका लागि आवश्यक पहल तत्काल थाल्न सरकारसँग आग्रह गरे ।
प्रकाशित समय : १५:५० बजे




















