गृहपृष्ठ इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
Guests applaud as US President Donald Trump concludes his televised address on the conflict in the Middle East from the Cross Hall of the White House in Washington, DC on April 1, 2026. (Photo by Alex Brandon / POOL / AFP)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिएका छन। ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ ।
ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताए, तर युद्ध कसरी र कहिले टुङ्गिन्छ भन्नेबारे स्पष्ट खाका प्रस्तुत गरे । उनले ‘काम छिट्टै पूरा गरिने’ दाबी दोहोर्याउँदै अमेरिकी आक्रमण अझ तीव्र हुने सङ्केत गरे ।
एक महिनाभन्दा बढी समयदेखि जारी यस द्वन्द्वले अमेरिकाभित्रै राजनीतिक दबाब बढाइरहेको छ । ट्रम्पको स्वीकृति दर घट्दै गएको छ भने बढ्दो तेल मूल्यका कारण सर्वसाधारणमा आर्थिक दबाब महसुस हुन थालेको छ । यही सन्दर्भमा उनले फेब्रुअरी २८ मा सुरु गरिएको आक्रमणमा किन इजरायलसँग सहकार्य गरिएको हो भन्ने विषयमा विस्तृत स्पष्टीकरण दिएका थिए ।
उनले आफ्नो सम्बोधनमा अमेरिकाको रणनीतिक उद्देश्य इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन अन्त्य गर्ने तथा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने रहेको उल्लेख गरे । यद्यपि संयुक्त राष्ट्रसङ्घका निकाय र अन्य विश्लेषकहरूले इरान तत्कालै आणविक हतियार नजिक नभएको आकलन गर्दै आएका छन् ।
द्वन्द्वको सुरुआती चरणमै इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको घटनालाई ट्रम्पले आफ्नो सफलताका रूपमा प्रस्तुत गरे । उनले इरानका ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबी गर्दै सैन्य प्रगतिको चर्चा गरे ।
तर इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यमा नियन्त्रण बढाउँदै प्रतिक्रिया दिएको छ, जुन विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग हो । यसको असर विश्व बजारमा देखिन थालेको छ—अमेरिकामा पेट्रोलको मूल्य वर्षौंपछि प्रति ग्यालन चार डलरभन्दा माथि पुगेको छ भने सेयर बजारमा गिरावट आएको छ ।
ट्रम्पको सम्बोधनपछि पनि बजारमा अनिश्चितता कायम रह्यो । बिहीबार प्रारम्भिक कारोबारमा तेलको मूल्य फेरि बढ्दा लगानीकर्ताहरू सतर्क देखिएका छन् । यसले युद्ध छिट्टै अन्त्य हुने अपेक्षामा शङ्का उत्पन्न गरेको छ ।
प्रकाशित समय : १३:११ बजे

















