global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण

नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण

नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण

गण्डकी। ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिने भन्दै सोका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत प्रधानमन्त्रीलाई आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयसहित ध्यानाकर्षण गराएका हुन् ।

नौ बुँदे ध्यानाकर्षण पत्रमा नेपाली कला र वास्तुकलालाई विश्वभर चिनाउन अरनिकोको जस्तै स्वर्ण युग बनाउन सकिने उल्लेख गरिएको छ । हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नुपर्ने, विभिन्न स्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनुपर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।

नेपालका कलाकारका कलाकृति बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनुपर्ने, नेपाल ललितकला विकास बोर्डको स्थापना गर्नुपर्ने, ललितकला पर्यटनलाई प्रोत्साहन दिनुपर्ने, विज्ञापन बोर्डमा कलाकारको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

अन्तर्राष्ट्रियस्तरको कला पुरस्कारको व्यवस्था र छुट्टै ललितकला विश्वविद्यालयको स्थापना गरिनुपर्ने, नेपाल प्रेस काउन्सिलबाट वर्गीकृत ‘क’ श्रेणीका पत्रिकामा अनिवार्य एक पृष्ठ ललितकलाका लागि छुटाउनुपर्ने, नेपालको संविधानमा ललितकलालाई राज्यको एक अङ्गका रूपमा उल्लेख गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सरकारले अघि सारेका १०० बुँदे कार्यसूचीले मुलुकमा सुशासन र समृद्धिको नयाँ आशा जगाएको र कलाकारको विकासले देशको सांस्कृतिक पहिचान उच्च बनाउनुका साथै पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने भन्दै ध्यानाकर्षणपत्रमार्फत ध्यानाकर्षण गराइएको महाअभियानका प्राज्ञ ठकुरीले जानकारी दिए । वर्तमान प्रधानमन्त्रीका पालामा नेपालले विश्वमा ललितकला डायमन्ड युगको देश भई हाम्रा सन्ततिले गर्व गर्न सक्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले कलाकारहरूले देशको संस्कृति, पहिचान, पर्यटन, उद्योग र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपाल आफैँ कला–संस्कृतिको धनी देश भएको बताउँदै सुझावसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।रासस

प्रकाशित समय : ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु