global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री एनभिए भलिबल लिग वैशाख १० देखि त्रिपुरेश्वरमा हुने

प्रधानमन्त्री एनभिए भलिबल लिग वैशाख १० देखि त्रिपुरेश्वरमा हुने

प्रधानमन्त्री एनभिए भलिबल लिग वैशाख १० देखि त्रिपुरेश्वरमा हुने

काठमाडौं । नेपाल भलिबल संघले आयोजना गर्ने प्रधानमन्त्री एनभिए महिला तथा पुरुष भलिबल लिग आगामी वैशाख १० देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गरिने संघले जनाएको छ ।

संघले वार्षिक कार्यक्रमअनुसार चैत महिनामा गर्ने भनिएको लिग विविध कारणले सारेर वैशाखमा सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब सहभागी हुनेछन् । यस्तै महिलातर्फ न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, नेपाल प्रहरी, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेष्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा समान नगद पुरस्कारको व्यवस्था गरिएको छ । विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दुवै विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही ६० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ । काठमाडौं उपत्यकाबाहिरबाट सहभागी टोलीका खेलाडीलाई दैनिक प्रतिव्यक्ति १२०० रुपैयाँ बस्न र खान खर्च उपलब्ध गराइनेछ भने उपत्यकाभित्रका टोलीका खेलाडीलाई दैनिक ३०० रुपैयाँ खाजा खर्च प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, संघको नीतिअनुसार प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी समावेश गर्न सक्नेछन्, जसका लागि नेपाल सरकारको नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । नेपाल भलिबल संघले राष्ट्रिय खेल भलिवलको विकास, विस्तार र व्यवसायीकरणमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै प्रतियोगिताको सफलताका लागि सबैको साथ र सहयोग अपेक्षा गरेको छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु