nmb bank

गृहपृष्ठ पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने

कास्की । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।

गरिब घरपरिवारको बीमा गर्ने सम्बन्धमा आज महानगर र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशबीच सम्झौता भएको छ । महानगरपालिकाको अति तथा मध्यम गरिब घरपरिवारको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकलाई स्वास्थ्य बीमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बीमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार महानगरपालिकाका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र विवरणमार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीबमोजिम आगामी विसं २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बीमा गरिनेछ ।

स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको प्रतिपरिवार तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु सात सय बीमाबापतको रकम महानगरपालिकाले बीमा बोर्डलाई भुक्तानी गर्नेछ ।

महानगरपालिकाको निःशुल्क बीमा कार्यक्रममा सहभागी तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घरपरिवार पहिचानको सिफारिस र दर्ता सहयोगीमार्फत भरिएको दर्ता फारमसमेत संलग्न गरी महानगरपालिकाको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ ।

यसरी पेस हुन आएका विवरणसहितका फारमहरू आवश्यक प्रक्रिया पूरा गरी स्वास्थ्य बीमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिने प्रमुख आचार्यले बताए । यस कार्यक्रमबाट महानगरपालिका क्षेत्रमा रहेका गरिबीको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास आचार्यले बताए ।

“आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेको वर्गलाई निकै ठूलो राहत मिल्ने विश्वास लिएका छौँ । महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको छ”, प्रमुख आचार्यले भने ।

महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अति तथा मध्यम गरिब परिवारलाई बीमा गर्ने कार्यका लागि सुरुआतमा दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने बताए । लक्षित वर्गलाई यस कार्यक्रममार्फत लाभ लिन महानगरपालिकाले अनुरोधसमेत गरेको छ ।

प्रकाशित समय : २२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु