गृहपृष्ठ हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु
हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाको आयोजनामा आजदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु भएको छ ।
सो कृषि प्रदर्शनी बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले उद्घाटन गरे । उनले कृषि क्षेत्रको समग्र विकास गर्न आधुनिकीकरण, यान्त्रिकरण गर्न जरुरी भइसकेको बताए ।
मन्त्री पौडेलले अहिले कृषि क्षेत्रमा गइरहेको अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको यथार्थलाई दृष्टिगत गरी उत्पादन गर्ने वास्तविक किसानलाई मात्र कृषि अनुदान दिने कार्यविधि बनाइएको पनि उल्लेख गरे ।
यही चैत १६ गतेसम्म सञ्चालन हुने उक्त कृषि प्रदर्शनीमा प्रदेशका विभिन्न जिल्लाका साना किसान, कृषि सहकारी, कृषक महिलाहरुको विभिन्न कृषि उत्पादन, कृषि सङ्घ सम्बन्धित वस्तुहरु जस्तै अल्लोबाट बनेका, खाद्य वस्तु, दूधजन्य वस्तु, मह, अचार, गेडागुडी, मसला, बाँसका सामान, फलफूलका जुस, तोरी तेल, मस्यौरा, गुन्द्रुक, कृषि प्रविधिलगायतका ४० वटा स्टलहरु राखिएका छन् ।
कृषि उत्पादनहरुको विविधिकरण तथा बजारीकरणबाट कृषकलाई फाइदा पु-याउने उद्देश्यले प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयको आर्थिक सहयोगमा प्रदेशस्तरीय कृषि प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित समय : १९:४८ बजे


















