गृहपृष्ठ चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा आज दिउँसो विशेष प्रवचन कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिको कार्यालयका कार्यालय सचिव वसन्तबहादुर खड्काले जानकारी दिए।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको इतिहास छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजाआराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको जानकारहरू बताउँछन् । यसैले उनलाई आदर्श राजाका रूपमा स्मरण गरिन्छ ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजाआराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई रामराज्यका रूपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिएको धर्मशास्त्रमा उल्लेख छ ।
प्रकाशित समय : १२:५२ बजे


















