गृहपृष्ठ फिदिममा सुम्हालुङ कप ब्याडमिन्टन हुने
फिदिममा सुम्हालुङ कप ब्याडमिन्टन हुने
पाँचथरको सदरमुकाम फिदिममा सुम्हालुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण अर्को महिना हुने भएको छ।
ब्याडमिन्टन संघ पाँचथरको आयोजनामा बैशाख १० देखि १२ गते फिदिम–१ स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिता सञ्चालन गरिनेछ।
बिहीबार फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले सुम्हालुङ मन्दिरको नामबाट प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ।
खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने, खेलाडीलाई प्रतिभा प्रदर्शनको अवसर दिने तथा युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।
प्रतियोगितामा पुरुष डबल्स, महिला डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज (यू–१५), जुनियर गर्ल्स (यू–१५), जुनियर ब्वाइज (यू–१३), जुनियर गर्ल्स (यू–१३), भेट्रान्स (१०० प्लस, दुई खेलाडको उमेर जोड्दा १ सय वर्ष भन्द माथि हुनुपर्ने ), सुपर भेट्रान्स (६०+), आन्तरिक ‘बी’ समूह र राइजिङ प्लेयर गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।
सुपर भेट्रान्स (६० प्लस ) विधामा ६० वर्षभन्दा माथिका खेलाडीले मात्र खेल्न पाउनेछन् र यसमा नेपाल तथा भारतका खेलाडी सहभागी हुनेछन्। आन्तरिक ‘बी’ समूहमा भने पाँचथर जिल्लाका ‘बी’ समूहका खेलाडीलाई मात्र सहभागिताको व्यवस्था गरिएको छ।
पुरुष डबल्सतर्फ विजेताले ५५ हजार, दोस्रोले २८ हजार र तेस्रो हुनेले २८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिला डबल्स र मिक्स डबल्समा विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
जुनियर यू–१५ तर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यू–१३ तर्फ विजेतालाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै भेट्रान्स र सुपर भेट्रान्सतर्फ विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।
आन्तरिक ‘बी’ समूहमा विजेतालाई ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ। राइजिङ प्लेयरलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रकाशित समय : ११:०७ बजे



















