गृहपृष्ठ वायु प्रदूषणले खतराको तह पार गरेपछि स्वास्थ्य मन्त्रालयको अपील
वायु प्रदूषणले खतराको तह पार गरेपछि स्वास्थ्य मन्त्रालयको अपील
काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको तह अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौँ, पोखरा र विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा चिन्ताजनक रूपमा बढेको पाइएको छ। श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म कणहरूले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने भएकाले विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीहरूले थप सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।
प्रवक्ता डा. बुढाथोकीले प्रदूषणका कारण सामान्य आँखा दुख्ने र पाक्ने समस्यादेखि लिएर मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग लाग्न सक्ने तथा दीर्घकालमा क्यान्सरसमेत गराउन सक्ने चेतावनी दिएका छन्। प्रदूषणको प्रत्यक्ष असरबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ।
प्रकाशित समय : १२:२७ बजे



















