गृहपृष्ठ सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी
सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी
उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन ।
मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उनले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप तनाव निम्त्याउने बताए ।
दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्नो वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् । यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ । दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।
सन् १९५० मा छिमेकी दक्षिण कोरियामाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई लामो समयदेखि आफ्नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ ।
किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उद्धृत गरेको हो । उनले यस्तो अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम निम्त्याउन सक्ने’ चेतावनी दिँदै क्षेत्रीय सुरक्षामा थप अस्थिरता आउन सक्ने सङ्केत गरे ।
उनि हालै उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति भएका छन । विश्लेषकहरूले यस पदलाई पार्टी महासचिवसरह प्रभावशाली जिम्मेवारी भएको मान्ने गरेका छन् ।
कतिपय रिपोर्ट र विश्लेषकहरूले यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सम्भावित शिखर सम्मेलनको सम्भावना पनि औँल्याएका छन् ।
लामो समयसम्म ती प्रस्तावहरूलाई बेवास्ता गर्दै आएका किम जोङ उनले गत महिना भने वासिङ्टनले उत्तर कोरियाको आणविक हैसियत स्वीकार गरेमा दुई देश ‘सँगै बस्न सक्ने’ बताएका थिए ।
प्रकाशित समय : १२:१७ बजे



















