गृहपृष्ठ रसुवामा गोसाइँद्वारधाम धमाधम निर्माण हुँदै
रसुवामा गोसाइँद्वारधाम धमाधम निर्माण हुँदै
सदरमुकाम धुन्चेबाट करिब दुई किलोमिटर पूर्व त्रिशूली खोलास्थित तिवारी बगरमा १०८ धारा जडित गोसाइँद्वारधाम निर्माण सुरु भएको छ ।
धुन्चे युवा समाजको सक्रियतामा गोसाइँकुण्डबाट आएको त्रिशूली खोलाको पानी तिवारी बगरमा बनाइने ढुङ्गेधारामा प्रवाह गरी धार्मिकस्थलका रूपमा विकास गर्न गोसाइँद्वारधाम निर्माण सुरु भएको हो ।
त्रिशूली खोला हुँदै गोसाइँकुण्ड जाने बाटोमा अवस्थित सानो गोसाइँकुण्डभन्दा केही तल जमिन सम्याउने काम करिब पूरा भएको, ललितपुरस्थित पाटनमा ढुङ्गाका १०८ वटा धारा बनाउने काम भइरहेको र आगामी जेठभित्र सम्पूर्ण निर्माण कार्य पूरा भई गोसाइँद्वारधाम सञ्चालनमा आउने समन्वयकर्ता सन्तोष घलेले जानकारी दिए ।
नुवाकोट गेर्खु डाडागाउँका पुरोहित शिवराम होमनाथ घिमिरेका अनुसार पहिलो चरणको काम डेढ करोडको लगानीमा सम्पन्न हुने र दोस्रो चरणका कामका लागि थप रकम सङ्कलन गरिनेछ ।
उनले चन्दादाताद्वारा सङ्कलन हुने दानदक्षिणा र जनश्रमदानसहितको सहयोगबाट पहिलो चरणमा धारा निर्माण गर्ने र दोस्रो चरणअन्तर्गत धार्मिक ग्रन्थका आधारमा अन्य संरचना बनाउँदै लगिने जानकारी दिए ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डियामलधाम निर्माणअन्तर्गत गठित आर्थिक उपसमितिले लक्ष्यअनुसार आर्थिक सहयोग सङ्कलन गर्ने विश्वास व्यक्त गरे । समग्र हिन्दू, बौद्ध तथा शिवमार्गीको पवित्रस्थलका रूपमा निर्माण गरी धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित गराउने उद्देश्यले काम अघि बढाइएकाले निर्माणमा सहयोग गर्न उनले सबैलाई अनुरोध गरे ।
प्रकाशित समय : २०:५५ बजे



















