गृहपृष्ठ मतदानपछि २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग
मतदानपछि २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न भएको २४ घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । आयोगले मत गणनालाई तीव्र, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित आवश्यक प्राविधिक तथा प्रशासनिक व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समयमै नतिजा सार्वजनिक गर्न मत पेटिका संकलनदेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया छिटो र व्यवस्थित ढंगले सञ्चालन गरिने जानकारी दिए । ‘मतदान सम्पन्न भएलगत्तै मतपेटिका सुरक्षित रूपमा संकलन गरी गणना प्रक्रिया अघि बढाइने छ र सकेसम्म २४ घण्टाभित्र नतिजा प्रकाशन गरिने छ’, उनले बताए ।
प्रतिनिधिसभा सदस्यका लागि यही फागुन २१ गते मतदान हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन गरिने छन् । आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातासँग सहकार्यको अपेक्षा गरेको छ ।
निर्वाचन प्रचारप्रसारका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म समय निर्धारण गरिएको थियो । आज फागुन १८ गते सोमवार राति १२ बजेदेखि मौन अवधि लागू हुने आयोगले जनाएको छ । मौन अवधि मतदान प्रक्रिया प्रारम्भ भएर सम्पन्न नहुँदासम्म कायम रहने छ ।
प्रकाशित समय : २१:०१ बजे



















