गृहपृष्ठ बैंकहरूमा अत्यधिक तरलता, ४० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकहरूमा अत्यधिक तरलता, ४० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकहरूमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षे खिच्ने भएको छ । राष्ट्र बैंकले ८८ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो ।
निक्षेप संकलनको बोलकबोल बुधबार (फागनु १३) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी जेठ १० गते हुने बताइएको छ ।
साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : ११:३२ बजे



















