global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एपस्टेन प्रकरणमा क्लिन्टन दम्पतीको गवाही

एपस्टेन प्रकरणमा क्लिन्टन दम्पतीको गवाही

एपस्टेन प्रकरणमा क्लिन्टन दम्पतीको गवाही

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले मृत यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको अनुसन्धानमा गवाही दिने सहमति जनाउनुभएको छ । पूर्वराष्ट्रपतिको प्रवक्ताले यो जानकारी दिँदै सम्भावित अवज्ञासम्बन्धी मतदानको प्रक्रिया यससँगै रोकिने सङ्केत दिएका छन् ।

क्लिन्टन दम्पतीले यसअघि एपस्टेनसँग जोडिएको अघिल्लो अनुसन्धानलाई अधिकारीहरूले कसरी सम्हालेका थिए भन्ने विषयमा सांसदहरूसामु उपस्थित हुन अस्वीकार गरेको थियो । तर अब उहाँहरू गवाही दिन तयार भएको प्रवक्ता एन्जेल युरेनाले सामाजिक सञ्जाल एक्समा जानकारी दिएको छ । पूर्वराष्ट्रपति र पूर्वविदेशमन्त्री दुवै उपस्थित भएर सबैमा लागू हुने उदाहरण स्थापित गर्न चाहने ।

हाउस रुल्स कमिटीले सन् २०१९ मा हिरासतमा मृत्यु भएका एपस्टेनसँगको सम्बन्धबारे स्पष्टता दिन समनको अवहेलना गरेको आरोपमा क्लिन्टनहरूविरुद्ध प्रस्ताव अघि बढाएको थियो । एपस्टेन प्रकरणले अमेरिकी राजनीतिमा अझै गहिरो प्रभाव पारिरहेको छ र यसले तीव्र पक्षपातपूर्ण बहसलाई पनि उजागर गरिरहेको छ ।

डेमोक्रेटहरूका अनुसार यो अनुसन्धानलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक विरोधीहरूलाई निशाना बनाउन प्रयोग गरिएको छ । उनीहरू ट्रम्प स्वयं लामो समयसम्म एपस्टेनसँग सम्बन्धित रहे पनि गवाहीका लागि नबोलाइएको दाबी गर्छन् ।

ट्रम्प र क्लिन्टन दुवैजनामाथि एपस्टेनका गतिविधिसँग सम्बन्धित कुनै पनि आपराधिक आरोप लगाइएको छैन । क्लिन्टन दम्पतीले यसअघि समनहरू वैधानिक उद्देश्यविहीन भएको तर्क गरेको थियो ।

रिपब्लिकनहरू भने बिल क्लिन्टनले सन् २००० को दशकको सुरुमा एपस्टेनको निजी विमान प्रयोग गरेकोलगायत विगतका सम्बन्धबारे शपथअन्तर्गत प्रश्न गर्नुपर्ने बताउँदै आएका छन् । यसअघि क्लिन्टन दम्पतीले लिखित बयान बुझाएको थियो । बिल क्लिन्टनले मानवीय कामका सिलसिलामा एपस्टेनको विमान चढेको स्वीकार गरे पनि निजी टापु नपुगेको बताउनुभएको छ । हिलारी क्लिन्टनले एपस्टेनसँग कुनै अर्थपूर्ण सम्पर्क नभएको स्पष्ट गरेको छ ।

गवाही दिने सहमति भएपछि हाउस रुल्स कमिटीले अवज्ञा कार्यवाहीसम्बन्धी मतदान स्थगित गरेको छ । यस विषयले कंग्रेसभित्र डेमोक्रेटहरूबीच मतभेद देखिने सम्भावना पनि बढाएको छ । न्याय मन्त्रालयले गत हप्ता एपस्टेन अनुसन्धानसँग सम्बन्धित अन्तिम फाइलहरू सार्वजनिक गरिएको जनाएको छ ।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु