गृहपृष्ठ खोटाङका उम्मेदवार घरदैलो अभियानमा व्यस्त
खोटाङका उम्मेदवार घरदैलो अभियानमा व्यस्त
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट खोटाङका उम्मेदवार वीरकाजी राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन । कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि एवम् पूर्वजिल्ला सचिव राईले काठमाडौँमा चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गरेका हुन ।
उम्मेदवार राईका साथमा कोशी प्रदेशका महामन्त्री एवम् निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जिल्ला उपसभापति एवम् हलेसी तुवाचुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख इवन राईलगायतका नेताहरु सहभागी छन् । कांग्रेस खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा चुनावी कमान्डर (नेता) तोकेर अभियान सुरु गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उम्मेदवार देवविक्रम राईले खोटेहाङ गाउँपालिकाको खोटाङबजारबाट घरदैलो अभियान सुरु गरेका छन । एमाले खोटाङका अध्यक्षसमेत रहेका राईले काठमाडौँ, इटहरी र गाईघाटको चुनावी भेला सम्पन्न गरेर सोमबारदेखि घरदैलो अभियान सुरु गरेका हुन ।
उम्मेदवार राईका साथमा एमाले केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराई, पूर्वजिल्ला अध्यक्षहरु बबि चाम्लिङ र रामप्रसाद दङ्गाललगायतका नेताहरु सहभागी छन् । औपचारिक कार्यक्रमका लागि मिति तय नगरी पहिलो चरणमा घरदैलो अभियान सुरु गरिएको उम्मेदवार राईले बताए।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाले माघ ७ गते दिक्तेल बजारबाट घरदैलो अभियान सुरु गरेका थिए । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा रोकाको घरदैलो अभियानमा रोकासँगै छ जना पूर्वसांसद तथा केन्द्रीय नेताहरु सहभागी छन् ।
दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्वसांसदहरु टङ्क राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिएका छन् ।
प्रकाशित समय : १२:२४ बजे





















