गृहपृष्ठ नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुर (नवलपरासी) । नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–स्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ ।
आइतबार साँझ क्रुजको विधिवतरुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो ।
क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजले यहाँको पर्यटन प्रवर्द्धनमा निकै टेवा दिने भन्दै नगरप्रमुख अधिकारीले क्रुजलाई देवघाट धामसम्म मात्रै नभई देवघाट धाम र त्रिवेणी धामसम्म जोड्नुपर्नेमा जोड दिए ।
क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा बाधा अड्चन भएको भन्दै उनले बाधा अड्चन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोग पालिकाले गर्ने बताए । क्रुजको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् होटेल रिभर क्राउनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले जल क्रियाकलापसँगै होटेल सञ्जाल गर्न राइनो क्रुज र होटलबीच सहकार्य भएको बताए । क्रुज सञ्चालनमा आएसँगै गैँडाकोट र नवलपुरको मात्रै नभई यस क्षेत्रका समग्र आर्थिक विकासलाई सञ्चालन र वृद्धि गर्न टेवा पुग्ने उनको भनाइ छ । क्रुजलाई स्थायीरुपमा सञ्चालन गर्दै यहाँको धार्मिक र पर्यटकीय क्षेत्रहरुलाई जोड्नका लागि पनि आफूहरुले भूमिका खेल्ने डा भट्टराईको भनाइ छ ।
क्रुज सञ्चालनकै क्रममा होटेल व्यवसायी प्रभाकर पण्डितले क्रुज सञ्चालनमा आएसँगै नवलपुर तथा चितवनसहित देशकै पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिएको बताए । नेपालकै पहिलो क्रुज नारायणी नदीमा सञ्चालनमा आएकोले यसले पर्यटकीय गतिविधिको वृद्धिमा सफलता हासिल गर्ने पण्डितको भनाइ छ । क्रुजको सञ्चालनले यहाँको आर्थिक क्रियाकलापलाई चलायमान एवम् आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उनले बताए ।
क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि एवम् होटेल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको बताए । साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट एवम् चौडाई २१ फिट रहेको भन्दै ढुङ्गेलले क्रुजको पूरा क्षमता दुई सय जना भए पनि १५० जनालाई सेवा सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याइएको बताए । क्रुजको यात्रा पूर्णरुपमा सुरक्षित रहेको भन्दै उहाँले क्रुज यातायातको लागि नभई रमाइलो जलयात्राका लागि सञ्चालनमा ल्याइएको बताए ।
सामान्यता क्रुजिङको समय बढीमा एक घण्टाको भए पनि कार्यक्रम तथा प्याकेजअनुसार थपघट गर्न सकिने ढुङ्गेलको भनाइ छ । क्रुजको प्याकेजका बारेमा जानकारी दिँदै ढुङ्गेलले भने, “ब्रेकफास्ट क्रुजिङ, लन्च क्रुजिङ, डिनर क्रुजिङ, विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता शुभ कार्य क्रुजिङ एवम् अन्य स्पेसल बुकिङका आधारमा क्रुजिङ हुनेछ ।” क्रुजिङका लागि साधारण टिकट रु पाँच सय तोकिएको भन्दै उनले ब्रेकफास्ट क्रुजिङको रु एक हजार पाँच सय, लन्च क्रुजिङको रु दुई हजार तथा डिनर क्रुजिङको रु तीन हजार एवम् अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिए ।
क्रुजले प्रति यात्रु रु १० लाख बराबरको बिमा गराएको भन्दै उनले गैँडाकोट तथा नारायणी नदी किनारलाई दक्षिण एसियाकै नमूना नदी पर्यटन गन्तव्य बनाउँदै नेपाललाई लक्जरी जल पर्यटनको नक्सा स्थापित गराउने बताए।
“यो परियोजना नारायणी नदीको राष्ट्रिय जलयात्रा सम्भावना, धार्मिक पर्यटन, दिगो पर्यटन र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासँग प्रत्यक्षरुपमा जोडिएको छ” उनले भने,“हामीले होटेल र क्रुजका लागि रु ५० करोडको लगानी गरेका छौँ, यसको लगानी समयअनुसार थप वृद्धि गर्दै सेवा विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ ।”
क्रुजलाई वर्षभरी सञ्चालन गर्ने योजनासहित गैँडाकोटबाट सञ्चालनमा ल्याइएको क्रुजले ठूलो हावा तथा पानीको बहावमा पनि यात्रा गर्न सक्ने क्षमता रहेको उनले बताए । देवघाट धाम, मौलाकालिका, वाल्मीकि आश्रम, चितवनको सौराहा, लुम्बिनीलाई यस परियोजनाले प्रमुख गन्तव्यको रुपमा एउटै पर्यटकीय करिडोरमा जोड्न भूमिका खेल्ने ढुङ्गेलले बताए। राइनो क्रुजले आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटनलाई मिश्रण गर्ने अपेक्षा गरिएको भन्दै उनले यसले नदी, धार्मिकस्थल, प्राकृतिक सौन्दर्य र लक्जरी आतिथ्यलाई एउटै आर्थिक चक्रमा बाँध्ने बताए ।
राइनो क्रुज सञ्चालनका क्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट नवलपरासीका वरिष्ठ उपाध्यक्ष छवि कँडेल, होटेल व्यवसायी सङ्घ मुकुन्दपुर मौलाकालिका क्षेत्रका अध्यक्ष शिव पौडेललगायतले क्रुजले जिल्लालाई पर्यटकीय हवको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । यस अवसरमा क्रुजका सञ्चालक सदस्य बद्रिप्रसाद अधिकारीले क्रुजको सञ्चालनले स्थानीय उत्पादनको खपत गर्दै रोजगारीको वृद्धि हुने बताए। उनले क्रुज र होटलमा गरी प्रत्यक्षरुपमा ५० जनालाई रोजगारी प्रदान गरिएको बताए।
प्रकाशित समय : ०७:१५ बजे




















