global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अफगान फर्केकाहरूको कठोर वास्तविकता

अफगान फर्केकाहरूको कठोर वास्तविकता

अफगान फर्केकाहरूको कठोर वास्तविकता People arriving from Afghanistan make their way at the Friendship Gate crossing point at the Pakistan-Afghanistan border town of Chaman, Pakistan August 15, 2021. REUTERS/Abdul Khaliq Achakzai NO RESALES. NO ARCHIVES

घरेलु द्वन्द्व, असुरक्षा र गरिबीबाट ज्यान जोगाउँदै दशकौँअघि छिमेकी मुलुकतर्फ गएका लाखौँ अफगान नागरिक अहिले पुनः आफ्नो देश फर्कन बाध्य छन् । लामो समयसम्म शरण दिएका पाकिस्तान र इरानले पछिल्लो समय निर्वासन प्रक्रिया तीव्र पारेपछि लाखौँ अफगान सीमापार फर्किएका छन् ।

परिवारसहित सीमामा आइपुगेका वा एक्लै फर्किएका सबैका लागि गरिबी, कमजोर पूर्वाधार र वातावरणीय समस्याले घेरिएको अफगानिस्तानमा नयाँ जीवन सुरु गर्नु ठूलो चुनौती बनेको छ । फर्किएपछि उनीहरूले भोग्नुपरेका मुख्य कठिनाइहरू के–के छन् भन्ने विषयमा एएफपीले स्थलगत अवस्था समेटेको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)का अनुसार सन् २०२३ को सेप्टेम्बरदेखि अहिलेसम्म इरान र पाकिस्तानबाट ५० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएका छन् । आइओएमका अफगानिस्तानस्थित उपप्रमुख मुत्या इजोरा मास्कुनका अनुसार यो सङ्ख्या देशको कुल जनसङ्ख्याको करिब १० प्रतिशत बराबर हो ।

गत वर्ष मात्रै करिब ३० लाख अफगानले सीमा पार गरी स्वदेश फर्किएका थिए । तीमध्ये धेरैले विदेशमा दशकौँ बिताएका थिए । यति ठूलो सङ्ख्यामा मानिसको आगमन कुनै पनि देशका लागि व्यवस्थापन गर्न अत्यन्त गाह्रो हुने मास्कुनको भनाइ छ ।

फर्किएपछि आवास सबैभन्दा गम्भीर समस्या बनेको छ । सेप्टेम्बर २०२३ देखि डिसेम्बर २०२४ को बीचमा फर्किएका एक हजार ३३९ आप्रवासीहरूमाथि गरिएको आइओएमको सर्वेक्षणअनुसार अफगानिस्तान आइपुगेको केही महिनापछि ८० प्रतिशत मानिससँग स्थायी घर थिएन । उनीहरू ढुङ्गा, माटो वा अस्थायी सामग्रीबाट बनाइएका झुपडीमा बस्न बाध्य थिए ।

यस्तै, संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर)ले गत वर्ष जनवरीदेखि अगस्टसम्म फर्किएका अफगानहरूसँग गरेको अर्को सर्वेक्षणले पनि अवस्था कठिन रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी तीन चौथाइ भाडामा बस्ने परिवारले भाडा तिर्न नसक्ने अवस्था रहेको बताएका थिए । धेरैजसो परिवारहरू चार जनासम्म एउटै कोठामा बस्न बाध्य रहेको तथ्य एक हजार ६५८ फर्केका व्यक्तिको विवरणबाट खुलेको छ ।

रोजगारीको अवस्था झनै निराशाजनक छ । आइओएमको सर्वेक्षणअनुसार पाकिस्तान र इरानबाट फर्किएका वयस्कमध्ये केवल ११ प्रतिशत मात्रै पूर्ण रूपमा रोजगारीमा छन् । युएनएचसिआरका अनुसार गत वर्षको सुरुका महिनामा फर्किएका मानिसहरूको औसत मासिक आम्दानी २२ डलरदेखि १४७ डलरसम्म मात्र थियो । यो आम्दानीले परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन भएको देखिन्छ ।

आवास र रोजगारीसँगै आधारभूत सेवाको अभाव पनि ठूलो चुनौती बनेको छ। आइओएमका अनुसार फर्किएका आधाभन्दा बढी घरपरिवारमा स्थिर बिजुली आपूर्ति छैन । विशेषगरी महिलाको नेतृत्वमा रहेका घरपरिवारहरू अझ बढी जोखिममा छन् । यस्ता घरपरिवारमध्ये करिब आधाले सुरक्षित पिउने पानीको पहुँच पाउन गम्भीर सङ्घर्ष गरिरहेको आइओएमले जनाएको छ ।

सरकारले फर्केकाहरूका लागि केही राहत उपाय अघि बढाएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हमदुल्ला फितरातले जनवरीको मध्यतिर देशभर फर्किएका नागरिकलाई तीन हजारभन्दा बढी जग्गा वितरण गरिएको जानकारी दिएका थिए । सर्वोच्च नेतासँग भएको विशेष बैठकपछि यो प्रक्रिया थप तीव्र बनाइएको उनको भनाइ छ ।

अफगानिस्तान प्रवेश गरेपछि फर्किनेहरूले सामान्यतया यातायात खर्च, सिम कार्ड र केही नगद सहयोग पाउने गरेका छन् । तर यति ठूलो सङ्ख्यामा फर्किरहेका नागरिकका लागि यी सहायता पर्याप्त नभएको स्थानीय अवस्था र अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्याङ्कनले देखाएको छ । दीर्घकालीन पुनःस्थापना, रोजगारी र आधारभूत सेवामा ठोस सुधार नभएसम्म फर्केकाहरूको जीवन अझै कठिन रहने सङ्केत स्पष्ट देखिन्छ ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु