गृहपृष्ठ केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई
केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई
गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार छिरे । उनी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारमा पसेका हुन् । त्यस्तै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको पनि उनले निरीक्षण गरे।
गृह सचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक लगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणमा पुगेका मन्त्री अर्यालले दुई कारागार कार्यालय र एक कारागार अस्पतालको अवस्था बुझे ।
मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षण गरी त्यहाँका कैदिबन्दीसँग भेट गरे।
उनले उनीहरूका समस्याबारे जानकारी लिए । त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरुमा पुगी त्यहाँ राखीएका बन्दीसँग समेत भेट गरे।
अर्यालले मंगलबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल निरीक्षणका क्रममा दुईजना चर्चित कैदी टोपबहादुर रायमाझी र राजेश अहिराजसँग पनि कुरा गरेका छन् ।
एमालेका पूर्वसचिव रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरण र मधेशका पूर्वप्रदेश प्रमुख अहिराज घरमै काममा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा हाल सजाय काटिरहेका छन् ।
प्रकाशित समय : १८:४४ बजे


















