गृहपृष्ठ नदी नियन्त्रणसम्बन्धी आयोजना लक्ष्य अघि सम्पन्न
नदी नियन्त्रणसम्बन्धी आयोजना लक्ष्य अघि सम्पन्न
म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको किनारमा कटान, बाढीपहिरो नियन्त्रणका लागि सञ्चालित आयोजना लक्ष्य अघि सम्पन्न भएको छ ।
जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले जलजलाको भूगोलमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण गरेको हो । आगामी चैत ३० गतेसम्म ठेक्का सम्झौताको म्याद भए पनि पुसको तेस्रो सातामा काम सम्पन्न भएको कार्यालयका इञ्जिनियर नरजङ गुरुङले बताए ।
“आयोजना निर्माणका लागि गत वैशाख १० गते गोपी–शाहना जेभीले दुई करोड १० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उनले भने, “१०२ मिटर दूरीमा तीन दशमलव पाँच मिटर उचाइ र तीन दशमलव पाँच मिटर चौडाइ भएको पक्कीमा कङ्क्रिटको पर्खाल निर्माण भएको हो ।”
कालीगण्डकीमा नदीको सतह घटेपछि गत मङ्सिरदेखि काम थालिएको निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले जानकारी दिए । पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि आयोजना सम्पन्न गरिएको उनले बताए ।
आयोजनामार्फत कालीगण्डकीमा बर्खामा आउने बाढी र नदी कटान तथा मल्लाजको भीरबाट खस्ने पहिरो रोकथाम भई बेनीको कालीपुल क्षेत्रको बस्ती संरक्षण हुने बेनी–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताए । “धेरैजसो आयोजनाहरू ढिलासुस्तीले थला परेको अवस्थामा यहाँको नदी नियन्त्रणसम्बन्धी आयोजनाले सकारात्मक सन्देश प्रवाह गरेको छ”, उनले भने, “निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको इच्छाशक्ति, चुस्त व्यवस्थापन तथा स्थानीयस्तरमा सहजीकरण, समन्वय हुन सक्यो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने यसबाट पाठ सिक्न सकिन्छ ।”
यस वर्ष बेनीसहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण आयोजना सञ्चालन भएका आयोजना कार्यालयका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ती आयोजनाको ठेक्का सम्झौता भई निर्माणका लागि व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । कालीपुल पारीको नदी नियन्त्रण आयोजना सबैभन्दा पहिले सम्पन्न भएको हो । ती आयोजनाको कूल लागत अनुमान २० करोड २९ लाख ७६ हजार ८३९ रहेको उनले जानकारी दिए।
प्रकाशित समय : २०:५५ बजे



















